विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईबिच आज कार्य सम्पादन सम्झौता भएको छ ।

मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमकावीच कार्यसम्पादन सम्झौता भएको हो । प्रदेश १ सरकारको काम कारबाहीलाई पारदर्शी, नतिजामूलक एवं उपलब्धिमा आधारित बनाउन ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा, प्रदेश सरकारको प्रथम आवधिक योजना उल्लिखित ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको दीर्घकालीन सोच प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ को नियम ६ बमोजिम कार्य जिम्मेवारी पुरा गर्न, विभागीय मन्त्रीका रूपमा कामको फर्स्यौट गर्न र प्रदेश सुशासन ऐन र नियमावलीको व्यवस्थालाई आत्मासाथ गर्दै मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री राईबिच कार्य सम्पादन सम्झौता भएको हो ।

सम्झौता अनुसार सामाजिक विकास मन्त्री राईले नेपालको संविधान अनुसूची ६, ७ र ९ प्रदेश सरकार नियमावली २०७४ को नियम ५ सँग सम्बन्धित विषय सङ्ख्या ५ बमोजिम कार्ययोजना बनाई कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

कार्यसम्पादन सम्झौता अनुसार मुख्यमन्त्री राईबाट नियमित अनुगमन तथा मन्त्रालय स्तरीय समस्या समाधान समितिमा समीक्षा हुने उल्लेख गरिएको छ ।