धरान : धरान उपमहानगरका मेयर तिलक राईले कोरोना विरुद्धको खोप लगाउन नगरवासीहरूमा अपिल गरेका छन् ।

मेयर राईले आज एक सन्देश जारी गर्दै साउन २०, २१ र २२ गते धरानका वडाहरूमा तोकिएको खोपकेन्द्रहरुमा जोनसन एण्ड जोनसन खोप लगाउन अपिल गरेका हुन् । जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरू र अन्य लक्षित समूहलाई लगाउन अनुरोध गरेका छन् ।

मेयर राईले ‘कोरोना सङ्क्रमणको अति उच्च जोखिमको क्षेत्रमा समेत परेको धरानमा सङ्घीय सरकारको निर्देशन बमोजिम उपलब्ध गराएको कोरोना विरुद्धको खोप व्यवस्थापन गर्दै सहजिकरणका लागि यही साउन २० देखि २२ गतेसम्म तोकिएको वडाहरूको खोप केन्द्रमा जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरू र अन्य लक्षित समूह (वैदेशिक रोजगारमा जाने, अति अपाङ्ग तथा पूर्ण अपाङ्ग भएका नागरिकहरू, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू र सरसफाईकर्मीहरु) लाई खोप लगाउन हुन अनुरोध गर्दछु अपिलमा उल्लेख गरेका छन् ।

यस्तै, साउन २० र २१ गते वडा नं. १ स्थित उद्योग वाणिज्य सङ्घमा कोरोना विरुद्धको भेरोसेल खोप उद्योग व्यवसायीहरूलाई पनि लगाइने छ । उक्त खोप केन्द्रमा साउन २२ र २३ गते ५५ वर्ष उमेर माथिका र अन्य लक्षित समूह (मानव अधिकारकर्मी, बिमा, लघुवित्त, आइएमई, सहकारी, सञ्चारकर्मी, छुटेका कर्मचारी, रेडक्रस, लायन्स क्लब, रोटरी, सङ्घ संस्था, छुटेका संस्थानका कर्मचारी, इन्टरनेट–केवलमा कार्यरत कर्मचारी, सैलुन) लाई लगाउन हुन आग्रह गर्दछु,’ मेयर राईद्वारा जारी अपिलमा भनिएको छ ।

यस्तै, मेयर राईले अहिले कोरोना भाइरसको नयाँ भेरिअन्ट तीव्र गतिमा बढिरहेको र पछिल्लो समयमा विश्वका धेरै मुलुक लगायत नेपालमै पनि अत्यन्तै महामारीको रूपमा यसले अकल्पनीय रूपमा मानवीय क्षति भइरहेकोले बेलैमा कोरोनाको सङ्क्रमण विरुद्धमा सचेत र सजग रहन पनि आम नगरवासीलाई आग्रह गरेका छन् ।

पछिल्लो समय धरानमा कोरोना संक्रमणदर उच्च र मृत्युदर पनि दैनिक रूपमा बढिरहेको अवस्था छ । अत्यावश्यक काम परे मात्रै घर बाहिर ननिस्किन र निस्कनै परे अनिवार्य नाक मुख छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै साबुन पानीको प्रयोग गरी पटक पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन मेयर राईले अनुरोध गरेका छन् ।

मेयर राईले सार्वजनिक स्थान र स्थलहरूमा भिडभाड नगर्न पनि अनुरोध गरेका छन् । साथै, मेयर राईले नगरवासीहरूमा कुनै कोभिड सम्बन्धी लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

Apil-M