धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त सङ्घर्ष समितिसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोली सँग आन्दोलनकारीको वार्ता अहिले पनि जारी छ ।

हिजो प्रतिष्ठान आइपुगेको वार्ता टोलीसँग राति अबेर सम्म छलफल भएको र आज पनि बिहानै देखि वार्ता सुरु भएको वार्तामा सहभागी डा. पदम नेपालीले बताए । प्रतिष्ठानको गेस्ट हाउसमा भइरहेको वार्ता सकारात्मक तर्फ उन्मुख रहेको डा. नेपालीले कपुरी न्युजलाई बताए ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य सेवा विभागका निर्देशक डा.कृष्णप्रसाद पौडेल संयोजक रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेका थिए । समितिमा स्वास्थ्य मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र शाखा अधिकृत देवराज भण्डारी सदस्य छन् । हाल ३ जनाको वार्ता टोलीले आन्दोलनरत सङ्घर्ष समितिसँग मागहरूबारे वार्ता गरिरहेको छ ।

सरकारले साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय अध्ययन समिति पनि बनाएको थियो ।

सो समितिले प्रतिष्ठानमा भएका आन्दोलन र उनीहरूका माग तथा प्रतिष्ठानका अन्य विषयमा पनि जाँचबुझ गरी प्रतिवेदन तयार पारी हिजो प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री सेरबहादुर देउवालाई बुझाई सकेको छ ।

समितिले बिपी प्रतिष्ठानको स्थलगत अध्ययन गरी तयार पारेको ६४ पेजको प्रतिवेदनमा कानुन विपरीत व्यक्तिगत सुविधाका लागि प्रतिष्ठानको स्रोत साधन खर्च र उपयोग गर्ने पदाधिकारी, शिक्षक तथा कर्मचारीमाथि पनि छानबिन गरी कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको छ ।

असार १ गते देखि बीपी प्रतिष्ठानमा प्रतिष्ठानका पदाधिकारीहरूले अनियमितता गरेको भन्दै त्यसको छानबिन तथा प्रतिष्ठानका विभिन्न समस्याहरू समाधान गर्नुपर्ने माग राख्दै प्रतिष्ठानका प्राध्यापक चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित रहेका छन् ।