धरान : सरकारी वार्ता टोली र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षबिच ६ बुँदे सहमति भएको छ । यो सहमतिसँगै आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । हिजो प्रतिष्ठान आईपुगेको उक्त वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त सङ्घर्ष समितिका प्रतिनिधिसँग वार्ता गर्दै ६ बुँदे सहमति गरेको हो ।

BP-Sahamati-A

सरकारी टोली तर्फ डा. कृष्णप्रसाद पौडेलसहित सदस्यहरू मान बहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन् । यस्तै सङ्घर्ष समिति तर्फबाट संयोजक डा एसपी रिमाल, सहसंयोजक डा विष्णु पोखरेल र १२ जना सदस्यले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार सरकारलाई हिजो बुझाइएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने, प्रतिष्ठान ऐन को दफा ११ घ मा व्यवस्था भएअनुरूप चारै जना पदाधिकारीहरूलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने, अब उप्रान्त प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड सहितको कार्यविधि तर्जुमा गर्ने लगायत छन् ।

प्रतिष्ठानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा विचाराधीन उजुरी तथा मुद्दाहरूको कारबाहीको प्रक्रियाका अवस्था बुझी शीघ्र कार्य फस्यौटको लागि मन्त्रालयमा तोकिएको महाशाखाले समन्वय एवम् सहजीकरण गर्ने सहमति पनि भएको छ ।

BP-Sahamati-1 BP-Sahamati-2