धरान : धरान-८ स्थित कोसी राजमार्गमाको जङ्गलमा दुर्घटनामा गम्भीर घाइते भएका तीन जना मध्ये एक जनाको मृत्यु भएको छ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन कुमार तिम्सिनाले दिएको जानकारी अनुसार आज बिहान ९:३० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएकी ४० वर्षीय मिरा देवी शाहको मृत्यु भएको हो।

मोटरसाइकल चालक २५ वर्षीय विमल शाह र ट्याक्टर चालक रामधुनी ३ बस्ने ३० वर्षीय अर्जुन कुमार चौधरी घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ।

ठक्कर दिने बस र बस चालक धरान-१५ बस्ने ३६ वर्षीय प्रभु खड्कालाई नियन्त्रणमा लिएको धरानका डिएसपी नरेन्द्र कुँवरले बताए ।

धरानबाट इटहरी जाँदै गरेको को १ ख ५४३० नम्बरको बसले सोही दिशा तर्फ अगाडी बढी रहेको को १ त ५१४३ को ट्याक्टरलाई ओभर ट्याक गर्ने क्रममा ट्याक्टरलाई ठक्कर दिएर पुनः प्रदेश १-०२-०४० प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।