धरान : एसइई स्पिकर धरान-२०७८ सिजन १ को ग्राण्ड फिनाले अन्तर्गत २५ प्रतिशत अंककोलागि भएको फिल्ड भिजिट राउण्ड मङ्गलवार सम्पन्न भएको छ।

धरान-१६ मा रहेको युएन नबोदय कलेजको हलमा भएको कार्यक्रममा सहभागीहरुले सुनसरीको वराहक्षेत्र-८ मा रहेको लगुन एग्रीकल्चर रिसर्च सेन्टर प्राली शीर्षकमा बोलेका थिए।

आयोजक र्‍याडिकल लाइट नेपाल प्रालिले आइतबार उत्कृष्ट ७ जना सहभागीलाई रिसर्च सेन्टरको अवलोकन भ्रमण गराएको थियो। सञ्चालक सुनिल थापाले सेन्टरको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए।अवलोकन भ्रमणका क्रममा प्राप्त सूचनाका आधारमा सहभागीहरूले आफ्नो बिचार व्यक्त गरेको आयोजक र्‍याडिकलका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

अधिकांश सहभागीहरूले सुनिल थापाको उदाहरणीय कामले देशका युवाहरूलाई कृषि पेसामा लाग्न उत्प्रेरणा मिल्ने बिचार व्यक्त गरे।सुनिल थापाले २०६४ सालमा लगुन एग्रीकल्चर रिसर्च सेन्टर स्थापना गरी ५ बिघा जग्गामा माछा, कुखुरा, हास, बट्टाई पाल्दै आएका छन्।

प्रतियोगिताको निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक एवम् कोशिपत्र दैनिकका सम्पादक राजेश विद्रोही र समता स्कुल इटहरीका शिक्षक जेपि काफ्ले रहेका छन्। एसइई स्पिकरमा बाँकी ७५ प्रतिशत अङ्कको लागि फाइनल आगामी शनिवार हुने आयोजकले जनाएको छ।

यसैबिच एसइई स्पिकर धरानका उत्कृष्ट ७ जना सहभागीहरूलाई डाइनिङ एटिकेट खाना शिष्टाचार सम्बन्धी ज्ञान प्रदान गरिएको छ।युएन नबोदय कलेजका होटेल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले सहभागीहरूलाई देश विदेशका स्टार होटलहरुमा काटा-चम्चा कसरी समात्ने, सुप कसरी खाने लगायतका महत्त्वपूर्ण ज्ञान प्रदान गरे। सहभागीहरूले खाना शिष्टाचार सामान्य लागे पनि जान्नै पर्ने कुरा भएको प्रतिक्रिया दिए।