धरान : धरानमा कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप १ हजार ८ जनाले लगाएका छन् ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार आज पहिलो दिन कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप ५०७ जना पुरुष र ५०१ जना महिलाले लगाएका हुन् । बुधवार वडा नं. २ को सिंहदेवीस्थित पुरानो बालिका स्कुलमा १२०, वडा नं. ३ को भानु स्मृति माविमा १५०, वडा नं. ४ को हर्दिया स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ५२, वडा नं. ६ को पानवारीस्थित सरस्वती माविमा २१०, वडा नं. ७ को सिद्धि नेवा परिषदमा १२४, वडा नं. ९ को समिट माविमा १४२ र वडा नं. १० को सैनिक भवनमा २१० जनाले जोनसन एण्ड जोनसन खोप लगाएको स्वास्थ्य महाशाखाका अधिकृत दीपा अधिकारीले जानकारी दिइन् ।

अधिकृत अधिकारीका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका ६२१, अति अपाङ्ग तथा पूर्ण अपाङ्ग भएका १९, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू र सरसफाईकर्मीहरु १३९ र वैदेशिक रोजगारमा जाने २२९ जनाले जोनसन एण्ड जोनसन खोप लगाएका हुन् । जोनसन एण्ड जोनसन खोप धरानका लागि ५ हजार आएको छ ।

यस्तै धरान वडा नं. १ स्थित उद्योग वाणिज्य सङ्घमा ३५७ जना उद्योगी व्यवसायीले भेरोसेल खोप लगाएका छन् । जसमा २०४ पुरुष र १५३ जना महिलाले खोप लगाएका छन् ।

आज छुटेका व्यवसायीहरूले उक्त खोप केन्द्रमा बिहीबार पनि खोप लगाउनेछन् । उद्योग व्यवसायीका लागि भनेर ७ सय भेरोसेल खोप छुट्याइएको छ । भेरोसेल खोप धरानका लागि ३ हजार आएको छ ।

उक्त खोप केन्द्रमा साउन २२ र २३ गते ५५ वर्ष उमेर माथिका र मानव अधिकारकर्मी, बिमा, लघुवित्त, आईएमइ, सहकारी, सञ्चारकर्मी, छुटेका कर्मचारी, रेडक्रस, लायन्स क्लब, रोटरी, सङ्घ संस्था, छुटेका संस्थानका कर्मचारी, इन्टरनेट–केवलमा कार्यरत कर्मचारी, सैलुनमा कार्यरतलाई भेरोसेल खोप लगाइने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

धरानको खोप केन्द्रको अनुगमन

मेयर तिलक राईले बुधवार धरानका विभिन्न खोप केन्द्रहरूमा अनुगमन गरेका छन ।

मेयर राईको नेतृत्वमा जिल्ला समन्वय समितिका अध्यक्ष एवं खोप संयोजक गोपाल राज भण्डारी, धरानका विभिन्न राजनीतिक दलका नेता, उपमेयर मञ्जु भण्डारी, राजस्व महाशाखा प्रमुख एवं सूचना अधिकृत खगेन्द्र प्रसाद भण्डारी, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा सहितको टोली अनुगमन गर्न खोपकेन्द्रहरुमा पुगेको थियो ।

अनुगमन गर्न पुगेका टोलीले खोप केन्द्रमा यस पटक एकदमै शान्तिपूर्ण वातावरणमा खोप कार्यक्रम सञ्चालन भएको पाएको बताए ।

यस्तै, साउन २१ गते बिहीबार वडा नं. ११ को लागि ज्ञानोदय मावि, वडा नं. १२ को लागि पब्लिक हाई स्कुल, वडा नं. १४ को लागि दन्तकाली मावि, वडा नं. १६ को लागि चन्द्र सँस्कृत मावि, वडा नं. १७ को लागि पञ्चायत मावि रेल्वे र वडा नं. १९ को लागि किरातेश्वर माविमा खोप केन्द्र रहनेछ ।

यसै गरी, अन्तिम दिन २२ गते शुक्रवार वडा नं. १ को लागि छाताचोकस्थित धरान स्वास्थ्य चौकी, वडा नं. ८ को लागि सभागृह, वडा ५ को लागि पाँचकञ्या स्वास्थ्य चौकी, वडा नं. १३ को लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. १३, वडा नं. १५ को लागि पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय, वडा नं. १८ को लागि कार्मेल हाई स्कुल र वडा नं. २० को लागि विष्णुपादुका स्वास्थ्य चौकीमा खोप लगाइने स्वास्थ्य महाशाखाले जनाएको छ ।

Anugaman