धरान : सङ्खुवासभाको इलाका प्रहरी कार्यालय चैनपुरले मोटरसाइकल चोरी गर्ने गिरोहका दुई जना सहित ६ वटा चोरीको मोटरसाइकल बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय चैनपुरले दिएको जानकारी अनुसार विगत केही महिनादेखि चैनपुर नगरपालिका अन्तर्गतका विभिन्न स्थानहरूबाट मोटरसाईकलहरु चोरी भइरहेको भनी इलाका प्रहरी कार्यालय चैनपुर, सङ्खुवासभामा मोटरसाइकल धनीहरूबाट निवेदनहरू प्राप्त भएको थियो ।

उक्त चोरी भएका मोटरसाईकलहरु खोजतलास गर्ने क्रममा साउन १० गते इलाका प्रहरी कार्यालय चैनपुर, सङ्खुवासभाबाट ट्राफिक प्रहरी सहित चैनपुर नगरपालिका वडा नम्बर-९ स्थित पिलुवामा विशेष चेकजाँचको क्रममा तेह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर-२ बस्ने वर्ष २० को सुमन कार्कीले चलाएको बा ९६ प ३६०२ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको च्याचिस नम्बर र इन्जिन नम्बर चोरी भएको मोटरसाइकलसँग मेल खाएकोले तत्काल उक्त मोटरसाइकल चालक सुमन कार्कीलाई नियन्त्रणमा प्रहरीले लिएको थियो ।

नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल सङ्खुवासभा चैनपुर नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २१ को सन्देश शेर्पाले बेचेको भनी खुल्न आएपछि सन्देश शेर्पालाई समेत तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्दा जिल्ला प्रहरी कार्यालय तेह्रथुमसँग समन्वय गरी खोजतलास गर्ने क्रममा तेह्रथुमको फेदाप गाउँपालिकाको विभिन्न स्थानबाट हराएको ६ वटा मोटरसाईकलहरु प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जना माथि इलाका प्रहरी कार्यालय, चैनपुर, सङ्खुवासभा मार्फत चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विभिन्न समयमा विभिन्न स्थानबाट हराएका अन्य मोटरसाईकलहरु चोरीमा पक्राउ परेका व्यक्तिहरूको संलग्नता रहे नरहेको सम्बन्धमा समेत अनुसन्धान भइरहेको छ ।

Bibaran