धरान : इटहरी-४ फलामे पुल नजिकबाट बाँसको झ्याँङ्मा गाडिएको अवस्थामा लागुऔषध सहित एक जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।

इटहरी-४ बस्ने ४८ वर्षीय सञ्जय कुमार चौधरीको घरमा लागुऔषध संचय गरी खरिद बिक्री गर्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले चौधरीलाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो ।

उनको शरीर खानतलासी गर्दा नाइट्रोभेट लेखिएको १ पत्तामा ८ ट्याब्लेट, स्पामोप्रोक्सिभान प्लस लेखिएको ३ पत्तामा रहेको २० वटा ट्याब्लेट मध्ये ३ वटा प्रयोग गरी १४ वटा ट्याब्लेट फेला पारेको थियो ।

चौधरीको घर वरपर खानतलासी गर्दा घर देखि पश्चिम तर्फ बाँस घारीको बिचमा खाल्डो खनी केही पुरेको जस्तो देखिएकोले शङ्का लागि खनेर हेर्दा बासको झ्यास र घर छाउने टायलले छोपेको अवस्थामा पहेँलो प्लास्टिकको ड्रम फेला परेको थियो ।

फेला परेको ड्रममा डाइलेक्स डिसी १०० एमएल लेखिएको ३३ बोतल, नाइट्रोभेट १० लेखिएको १ पत्तामा ३० वटा ट्याब्लेटका दरले १० पत्ता, स्पामोप्रोक्सिभान प्लस लेखिएको १ पत्तामा २४ वटा ट्याब्लेटका दरले २१ पत्ता लागुऔषध बरामद भएको इटहरी प्रहरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका चौधरीलाई जिल्ला अदालतमा पेस गरी ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।