झापा : डिभिजन वन कार्यालय झापाको तथ्याङ्क अनुसार वि.सं. २०६७ देखि २०७८ वैशाख मसान्तसम्ममा झापामा ४८ जनाको मृत्यु भइसकेको छ। जसमा पाँच जना गैर नेपाली पनि छन् । पछिल्लो एक दशकमा ५९ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ ।

२०६२ सालदेखि २०७७ सालको कात्तिक महिनासम्ममा १३ वटा हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । वि.सं. २०४९ उता कति मान्छे मरे, कति हात्ती मारिए भन्ने यकिन रेकर्ड कहीँ कतै भेटिँदैन ।

झापामा वि.सं. २०६७ सालदेखि २०७८ सालसम्ममा हात्तीको आक्रमणबाट मारिएका नेपाली नागरिकहरूको तथ्याङ्कमा कुल ४३ जना रहेका छन् । जसमा २०६७ सालमा २ जना, २०६८/६९ सालमा ७/७ जना, २०७० सालमा ३ जना, २०७१ सालमा २ जना, २०७२ सालमा ४ जना, २०७३/७४ सालमा ५/५ जना, २०७६ सालमा १ जना , २०७७ सालमा ५ जना र २०७८ को हाल सम्म १ जनाको सहित ४३ जनाको मृत्यु भएको तथ्याकं डिभिजन वन कार्यालय झापाले दिएको छ ।

यो तथ्याङ्कमा उल्लेख भए बाहेक वि.सं. २०६४ सालमा १ जना, २०६७ सालमा १ जना, ६८ सालमा २ जना र ७७ सालमा १ जना गरी ५ जना गैर नेपाली नागरिकहरूको समेत हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कले देखाउँछ। ती मध्ये ४ जना भुटानी शरणार्थी शिविर बेलडाँगीमा आश्रित भुटानी शरणार्थी हुन भने १ जना भारतीय नागरिक रहेका छन् । यस्तै, डिभिजन वन कार्यालय झापाको तथ्याङ्क अनुसार बितेको १६ वर्षमा जम्मा १३ वटा हात्ती मृत फेला परेका छन् ।

elephant

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले १० लाख रुपैयाँ राहत दिने व्यवस्था छ । सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्च बापत २० हजार रुपैयाँसम्म दिने कानुनी व्यवस्था छ ।

घर गोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्य बालीमा क्षति पुर्‍याएको अवस्थामा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन बन कार्यालय झापाले जनाएको छ । डिभिजन बन कार्यालय झापाले २०६२ सालदेखि हालसम्ममा हात्तीपीडित दुई हजार ७ सय ९५ जनालाई विभिन्न शीर्षकमा ४ करोड ४७ लाख १४ हजार ४ सय ४० रुपैयाँ राहत वितरण गरिएको जानकारी दिएको छ ।