झापा : दमक उद्योग वाणिज्य सङ्घले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दमक नगरपालिकालाई ४१ लाख ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य उपकरणहरू उपलब्ध गराएको छ ।

सङ्घको अगुवाइमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले नगरपालिकालाई एक थान अत्याधुनिक भेन्टिलेटर, ६ थान अक्सिजन कन्सट्रेटर उपकरण सहित विभिन्न स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको हो ।
सङ्घले सहयोग जुटाउन सङ्घका पूर्व अध्यक्ष प्रकाश प्रसाईँको संयोजकत्वमा कोरोना महामारी नियन्त्रण अभियान गठन गरेको थियो ।

अभियानले विभिन्न व्यक्ति, सङ्घ संस्था र लायन्स क्लबसँगको सहकार्यमा ती सामाग्रीहरू खरिद गरेको थियो । दमकका उद्योगी, व्यवसायीका तर्फबाट ७ लाख ७७ हजार रुपैयाँ र अन्य रकम भने लायन्स क्लब अफ इन्टरनेशनलको परियोजनाबाट सहयोग जुटाइएको अभियानका संयोजक प्रसाईँले जानकारी दिए ।

सङ्घको कार्यालयमा शुक्रवार एक कार्यक्रम गरी स्वास्थ्य सामाग्रीहरू नगर प्रमुख रोमनाथ ओलीलाई हस्तान्तरण गरिएको अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए । सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ ए वानका डिस्ट्रिक्ट गभर्नर रेवतबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
नगरपालिकालाई प्राप्त उक्त स्वास्थ्य उपकरणहरू दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा जडान गरी छिट्टै सञ्चालनमा ल्याउने नगर प्रमुख ओलीले बताए ।

लायन्स क्लब इन्टरनेशनलका एमिडेट पास्ट मल्टिपल काउन्सिल चियर पर्सन राजन खत्रीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरणमा लायन्सको डिस्ट्रिक्ट गभर्नर एड् एफजिएफ अजय अग्रवाल, दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवृक्ष चौधरी, वाणिज्य सङ्घका पदाधिकारी, सदस्यहरु, उद्योगी, व्यवसायी, लायन्सका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सङ्घका प्रथम उपाध्यक्ष राजु खड्काले गरेका थिए ।