इटहरी : सेउती खोलाबाट उत्खनन गरिएको गिट्टीमा बम फेला परेको छ । इटहरी-२ मा सडक ग्राभेल गर्ने ल्याइएको मिक्सगिट्टीमा बम भेटिएको हो ।

एक बालकले सडकमा खेल्ने क्रममा फेला परेको डल्लो बस्तु 'प्लास्टिक हेण्ड ग्रिनेड' फेला परेको हो। इलाका प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीको सहयोगमा बम निष्क्रिय गरिएको छ। खोलाबाट ल्याइएको गिट्टीमा बम भेटिएको आशङ्कामा हाललाई खोला उत्खनन बन्द गरिएको उनले बताए।

उनका अनुसार खोलाको केही स्थानमा अहिले सिल गरिएको छ। सो क्षेत्रमा थप विस्फोटक पदार्थ हुन सक्ने अनुमानका साथ 'सर्च' गर्न लगाइएको छ ।

सो बमलाई शक्तिशाली मानिन्छ जसले ३०-४० मिटर पर सम्मको क्षति पुर्‍याउन सक्छ । भेटिएको बम पुरानो भएको सेनाको भनाई छ।

सर्चमा अहिले इलाका प्रहरी कार्यालय धरान, इटहरी र सेनाको एक टोली परिचालन गरिएको छ ।