चतरा : वराहक्षेत्र-१ स्थित वीरमाया स्मृति फाउण्डेशनद्वारा आयोजित रक्तदान कार्यक्रममा २५ पिन्ट रगत सङ्कलन भएको छ । शनिवार नेपाल रेडक्रस सोसाइटी सुनसरीसँगको समन्वय बोलबम धर्मशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

समाजसेवा र मानव सेवा कार्यका सक्रिय फाउण्डेशनले दोस्रो कार्यक्रमको रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कोभिड महामारीमा मानव सेवामा फाउण्डेशनले यस अगाडि न्यून आय भएका परिवार र मजदुरलाई खाद्यान्न सहयोग गरेको थियो ।

शनिवार औलिया मठ तथा छिन्नामस्त संरक्षण समितिसँगको सहकार्यमा आयोजना भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि रेडक्रस सुनसरीका सभापति उमेश थापा रहेका थिए । रक्त सेवाको क्षेत्रमा काम गरिरहेको रेडक्रसमा नियमित रगत पूर्ति गर्न समस्या हुने गरेको थापाले बताए ।

उनले भने 'हाल बिपी प्रतिष्ठान धरानमा दैनिक रूपमा चाहीने रगत पूर्ति गर्न समस्या छ। नियमित रक्तदान हुन सकेका छैनन् । कोरोनाले पनि समस्या बनाएको छ।' उनले नियमित रक्तदान गर्ने कार्यमा जोड दिन आव्हान समेत गरे। कार्यक्रममा जिल्ला उपसभापति डम्बर प्रसाद सिग्देल, वराहक्षेत्र उपशाखा सभापति ओमकुमार शर्मा, वडा नं १ अध्यक्ष सुरेश श्रेष्ठ, वडा सदस्य सुशीला शेर्पा त्यस्तै समाजसेवी ममता तामाङ, सुजेन्द्र तामाङ, कृष्ण कट्टेल, रमेश कार्की, अनु गुरुङ, ईश्वर थापा, लक्ष्मी मालाकार, अनु गुरुङ, सन्त राई, तुलसी श्रेष्ठ लगायत कार्यक्रममा विशिष्ट अतिथि तथा अतिथि रहेका थिए ।

कोभिड महामारीको समयमा रक्तदान कार्यक्रम नभएको र रगतको आपूर्ति न्यून हुँदै गएकाले रक्तदान कार्यक्रम गरिएको वीरमाया स्मृति फाउण्डेशनका अध्यक्ष मनोज तामाङले बताए। मानव सेवा गर्ने उद्देश्य राखेर रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष तामाङले बताए ।

फाउण्डेशनमा अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औपचारिक कार्यक्रमको सञ्चालन स्थानीय राजा तामाङले गरेका थिए। सोही कार्यक्रममा फाउण्डेशनको तर्फबाट औलिया मठ तथा छिन्नामस्त संरक्षण समितिलाई ५ थान कुर्सी समेत प्रदान गरिएको थियो।