चतरा : बराहक्षेत्र नगरपालिकाका दुई वटा विद्यालय र एउटा क्याम्पस परिसरमामा नयाँ पिँढी नामक युवाहरूको समूहले वृक्षारोपण गरेको छ।

शनिवार वराहक्षेत्र-८ स्थिति कोसी माध्यमिक विद्यालय, वराहक्षेत्र-६ स्थित महेन्द्र माध्यमिक विद्यालय र वराहक्षेत्र-७ मा रहेको सप्तकोसी बहुमुखी क्याम्पस विद्यालय परिसरमा वृक्षारोपण गरेको नयाँ पिँढीका अध्यक्ष शिशिर तामाङले बताए ।

वृक्षारोपण कार्यक्रममा संस्थाका सदस्य तथा संस्था भन्दा बाहिर रहेका स्थानीय व्यक्ति, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति सदस्यहरूको समेत उपस्थित रहेको थियो ।

नव गठित संस्था नयाँ पिँढीले सुरुवाती कार्यक्रमको रूपमा वृक्षारोपण कार्यक्रम गरेको अध्यक्ष तामाङले बताए। हरेक महिना सामाजिक कार्य गर्ने योजना रहेको र युवा लक्षित विभिन्न कार्यक्रम, विपन्न बर्गलाई सहयोग, पढाइबाट वञ्चित रहेका बालबालिकालाई पढाइ माध्यम उपलब्ध गराउने, युवाहरूको बौद्धिक विकास गर्ने जस्ता कार्यक्रमहरू नियमित रूपमा गर्ने उद्देश्य रहेको तामाङले बताए।