धरान : आज २७ औँ विश्व आदिवासी दिवस, विश्वभर ‘कसैलाई पछाडि नछाडौँ : आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आव्हान’ भन्ने नाराका साथ मनाइँदै छ । यो दिवस नेपालका आदिवासी जनजातिले विभिन्न कार्यक्रम गरेर मनाउदैछन् ।

विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्ट महिनाको ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रूपमा घोषित गरे पछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।

नेपालमा ‘पहिचान सहितको सङ्घीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्म निरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७ औँ विश्व आदिवासी दिवस हाम्रो आन्दोलन’ भन्ने नाराका साथ मनाइँदै छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ लगायतका सङ्घसंस्थाले शुभकामना आदानप्रदान गर्दै कार्यक्रम मनाउँदै छन् ।

विगतमा सडकमा झाँकी र भव्य कार्यक्रम गर्दै आएको महासङ्घले कोरोना महामारीका कारण दुई वर्षदेखि भर्चुअल रूपमा कार्यक्रम गर्दै छन् ।

आज भने भर्चुअल र सामान्य भौतिक रूपमा उपस्थित हुँदै शुभकामना आदान प्रदान गर्ने कार्यक्रम भइरहेका छन् ।

धरानमा पनि आदिवासीजन्य संघसंस्थाहरुले विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू गर्दै दिवस मनाउदैछन् । सामाजिक दुरी र स्वास्थ्य मापदण्ड कायम गरी विभिन्न माध्यमहरूबाट यो कार्यक्रम मनाइने आदिवासी जनजातिजन्य संघसंगठनहरुले जनाएका छन् ।