धरान : सुनसरीको कोसी गाउँपालिका–५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नयाँ घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल सहित लड्दा एक जना मिस्त्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा नगरपालिका–१० जल्पापुरका ३७ वर्षीय ईशादिल अन्सारी रहेका छन् । आज दिउसो १ बजे भएको सो घटनामा देवानगंज गाउँपालिका–३ का २४ वर्षीय मोहम्मद सतार अन्सारी समेत घाइते भई जिल्ला अस्पताल इनरुवा सुनसरीमा उपचार भइरहेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।