धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अवधिमा विभिन्न मुद्दाका २ सय ३८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी अदालतमा पेस गरेको छ ।

जसमा ५ दिन देखी २० वर्ष सम्म कैद सजाय तोकिएका अभियुक्तहरू रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

साउन १ गते देखी हाल सम्म सुनसरी जिल्ला अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरूलाई खोजतलास गरी जिल्ला अदालतमा पेस गरेको हो ।

कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकी फरार रहेका प्रतिवादीहरूबाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने ९ लाख ३५ हजार ३ सय १९ रुपैयाँ जरिवाना समेत असुल भएको छ ।

सुनसरी प्रहरीको फरार पक्राउको यस अभियानले अपराधी घटना घटाई समाजमा निस्फिक्री हिँड्ने प्रवृतिका विरुद्ध लक्षित छ । अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ ।

फरार प्रतिवादी पक्राउका क्रममा मिति २०६६ वैशाख १६ गते आफ्नी नातिनी ५ वर्षीया सोशिला कुमारी खत्वेलाई घाटी बटारी मारेर प्लास्टिकको बोरामा हालेर खेतमा गाडी फरार रहेका वसन्त खत्वे समेत रहेका छन् । उनलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट जन्म कैद सजाय तोकिएको थियो ।