इटहरी : इटहरीका होटेल व्यवसायी किरण बुढाथोकीको निर्माणाधीन रिसोर्टमा इटहरीका मेयर द्वारीकलाल चौधरीले डोजर चलाएका छन् । विगतमा जस्तै मंगलबार बिहान कागजी प्रमाण बिनै मेयर चौधरी दलबल सहित डोजर लिएर रिपोर्ट बन्ने ठाउँमा पुगेका हुन्। सार्वजनिक जग्गा मिचेर संरचना बनाएको भन्दै उनले डोजर चलाएको प्रतिक्रिया दिएका छन् । उता बुढाथोकीले आफ्नो निजी जग्गामा संरचना बनाउँदा मेयर चौधरीले दादागिरी शैलीमा प्रस्तुत भएको बताएका छन्।

२०७४ सालमा निर्वाचित भएसँगै सार्वजनिक जग्गा खोज्ने कार्यलाई तिब्रता दिने बताएका चौधरी लामो समय मौन भए । इटहरी १७ मा रहेको सिप्रदी ट्रेडिङले खोला मिचेर संरचना बनाएको भन्दै भत्काउन पुगेपछि उनी चर्चामा आएका हुन् । त्यस पछि इटहरी २ को रोयल रिसोर्टले पैनी मिचेको भन्दै संरचना भत्काउन पत्र पठाए । इटहरी ९ मा रहेको डिभिएम स्कुलमा जनता पार्क बनाउने उद्घोष गरे । स्कुलले सार्वजनिक जग्गा ओगटेको भन्दै उनले उपमहानगरले उपयोग गर्ने चेतावनी दिए । जुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

त्यसपछि खेती खोला सफाई अभियान चलाएका मेयर चौधरी हाम्रो बोर्डिङको भवन भत्किने भएपछि रोकिएका थिए । स्थानीय नेताहरूको लगानी भएको भनिएको स्कुल भत्काउन नसकेपछि उनी पछाडी हटे। त्यही समयमा खोला मिचेर घर बनाएको आरोपमा इटहरी-५ का रामप्रसाद चौलागाईको घर खाली गर्न पत्र पठाए । व्यक्तिगत रिसिबि बढ्दै गएपछि चौधरीले ७ दिनको म्याद टाँस्न लगाए । तथापि चौलागाईले घर खाली गर्नुपर्ने अवस्था आएन ।

itahari-khola-painai

खोला र पैनी मिचेर संरचना निर्माण गर्दा हरेक वर्ष इटहरीले डुबानको समस्या भोग्दै आएको छ । नेकपा एमाले नगर कमिटीको पार्टी कार्यालय पैनीमाथि निर्माण भएको छ । लामो समय देखी पार्टी कार्यालय बारे प्रश्न उठ्दै आए पनि मेयर चौधरी यसबारे मौन छन् । सार्वजनिक जग्गा खोजबिनमा अभियान चलाएका चौधरी पैनी माथि बनेको कार्यालयको बारेमा जानकार छन् । यसपटकको उनको अभियान आफ्नै पार्टी कार्यालय सम्म पुग्नेमा धेरैले शङ्का गरेका छन् ।

इटहरी-५ स्थीत सिमरबना सहकारी संस्थाको भवनले समेत पैनीको आधा क्षेत्र ओगटेको छ । पैनी मिचेर बनाइएको उक्त भवनको नक्सा पास समेत हुन सकेको छैन । इटहरीको मुख्य बजार भएर बग्ने खेती खोला मिचेर ‘हाम्रो इङ्लिस बोर्डिङ स्कुल’ सञ्चालन हुँदै आएको छ । ५५ देखी ७६ फिट सम्म लामो खोलाको भाग हाल खुम्चिएर २५ फिट भन्दा सानो भएको छ । खोलाको भागमा बोर्डिङको प्रशासनिक भवन बनेको छ । बोर्डिङ मात्र हैन स्थानीयले घर, सडक तथा पार्टी प्यालेस बनाउँदा समेत खेती खोला मिच्ने गरेका छन् ।

इटहरी-८ को नमुना कलेजको अवस्था पनि त्यस्तै छ । टेङ्ग्रा खोला मिचेर कलेजले चमेना गृह निर्माण गरेको छ । कलेज अगाडीको घर समेत खोलाकै जग्गामा निर्माण भएको छ । खोलाको किनारामा पर्ने बाटो समेत खिइँदै गएको छ । ट्राफीक प्रहरी कार्यालय पछाडि निजी घडेरी बनाउन खोला मिचिएको छ । त्यस्तै टेङ्ग्रा खोलाको शिर देखी नै विभिन्न संरचना निर्माण हुँदा खोला खिइँदै गएको छ । पार्क, रिपोर्ट, भवन, राजमार्गको नाममा खोलाको जग्गा मिच्ने गरिएको छ ।

royal-resort

लामो समय मौन भएका मेयर चौधरी पुनः पुरानै आतङ्कित अवस्थामा देखा परेका छन् । पत्रकार देखी कर्मचारीलाई गाली गरेरै चर्चित भएका उनी फेरी सोही लाइनमा देखिएका हुन् । काम गर्छु भन्ने तर पुरा नगर्ने उनको पुरानो बानीले जनताको विश्वास गुम्दै गएको छ । सार्वजनिक जग्गा खोज्ने भने पनि ठुला नेताको प्रभाव परेपछि उनी मौन हुने गरेका छन् ।

निर्वाचनको अघिल्लो दिनसम्म काम गर्ने बताएका उनको लागि एमाले पार्टी कार्यालय, रोयल रिपोर्ट, हाम्रो बोर्डिङ, सिप्रदी ट्रेडिङ लगायत विभिन्न संरचनाहरू चुनौती हुन् । सङ्घीय सरकारले स्थानीय सरकारलाई पठाएको पत्रानुसार खोला देखि ३० मिटर असापासको क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाइने व्यवस्था उल्लेख गरिएको छ । तर स्थानीय सरकारमा कति मिटरमा उपयुक्त हुन्छ भन्ने बारे एक समितिले अध्ययन गरेको छ । जसले टेङ्ग्रा र खेती खोलाको किनारमा संरचना निर्माण गर्दा ६ मिटर छाड्नुपर्ने प्रतिवेदन तयार पारेको छ ।