धरान : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मंगलबार नै घिसिङलाई नियुक्ति पत्र दिई पदस्थापन गर्ने तयारी गरिएको थियो ।

ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालले मन्त्रिपरिषदमा पेस गरेको प्रस्ताव अनुसार घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । कार्यकारी निर्देशकले पाउने सेवा सुविधा नै दिने गरी शाक्यलाई सरुवा गरिएको बताइएको छ ।

घिसिङले आजै पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको विद्युत प्राधिकरण स्रोतले बताएको छ । २०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौँदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।