इटहरी : इटहरीका मेयर द्धवारीकलाल चौधरीले स्थानीय याम प्रसाद ढकाललाई प्रमुख प्रशासकीय अधिकृतको कोठामा बुधवार थुने।

नगर प्रहरीलाई लिन पठाएर उपमहानगरपालिका कार्यालयमा हाजिर गराएपछि उनलाई बाहिरबाट चुकुल लगाएर ढकाललाई मेयर चौधरीले थुनेका हुन् ।

खेती खोला किनारमा घर बनाएर र ऐलानी जग्गा मिचेको भन्दै ७ दिन भित्र घर भत्काउने मेयरले आदेश दिएको ढकालले बताए। ‘७ दिनभित्र घर भत्काउँछु भनेर कागजमा हस्ताक्षर गर्नु नभए थुनिदिन्छु’ भनेर मेयरले धम्की दिएको उनले बताए । आफू घर भत्काउन तयार नभएपछि थुनिएको ढकालको भनाई छ। उनलाई थुनेपछि मेयर चौधरी गाडी चढेर कार्यालय परिसर बाहिर निस्किए ।

त्यही बेला प्रदेश सांसद तथा पूर्व मेयर सर्वध्वज साँवा इटहरी उपमहानगरपालिकाको कार्यालयमै घुमिरहेका थिए । ३ बजे देखी एउटै कार्यकक्षमा थुनिएका उनलाई निकाल्ने कुनै प्रयत्नै नगरी साँवा बाहिरिए ।

इटहरी-४ आइतबारेका आफ्नै छिमेकी समेत रहेका ढकाललाई निकाल्नुपर्छ भन्ने विषयमा आवाज उठेपछि सावा पछि कुरा गरौला भन्दै पछि सरेका हुन । उनी सँगै सोही वडाका जनप्रतिनिधि शान्तिराम गौतम पनि कुनै प्रतिक्रिया नदिई सुटुक्क कार्यालय बाहिर निस्किए ।

मेयरले आपराधिक गतिविधि गरेको भन्दै काङ्ग्रेसद्वारा भर्त्सना

उता नेपाली काँग्रेस नगर समितिले भने मेयरले आपराधिक गतिविधि गरेको भन्दै भर्त्सना गरेको छ।

एउटा नागरिकलाई कानुनी प्रक्रिया नपुर्‍याई कोठामा ल्याएर थुन्ने कामले सिङ्गो इटहरीको बेइज्जत भएको नगर सभापति हेमकर्ण पौडेलले बताए ।

विगतमा पनि मेयरले अराजक गतिविधि गरेकाले अब कानुनी कारबाही नभए कुनै हालतमा माफी दिन नसकिने उनको भनाई छ ।

सो घटनाको विरोध जनाउँदै काँग्रेसले मेयर र उपमेयरको भवनमा तालाबन्दी गरेको छ। विरोध स्वरूप बिहीबार बिहान ९ बजे काँग्रेसले प्रदर्शन गर्ने भएको छ। इटहरी उपमहानगरपालिका कार्यालयमा भेटेर मेयरको कदम विरुद्ध आवाज उठाउने सभापति पौडेलले जानकारी दिए । थुनिएको विषयमा विरोध सुरु भएपछि नगर प्रहरी प्रमुख जय बहादुर राईले सुटुक्कै चुकुल खोलिदिए।

त्यसपछि कसैले थाहा नपाए जस्तै गरी थुनैकै छैन भन्दै प्रतिक्रिया दिए । तर त्यस अघि खिचेको फोटो र भिडियो फेला परेपछि उनी मौन भए । त्यही बिचमा आइटिका कर्मचारी ओसन चौधरीले पठाएको भन्दै सिसी क्यामेरा मर्मत गर्ने टोली कार्यकक्षमा छिर्‍यो ।

सो टोलीले सिसी क्यामेरा चलेको छ छैन भनी हेर्न पठाएको भन्दै क्यामेराको कन्ट्रोलर चलाउन सुरु गर्‍यो । तर बाहिर उपस्थित काँग्रेस कार्यकर्ताले मान्छे थुनेको ठाउँमा किन छिरेको भन्दै विरोध जनाए पछि उनीहरू बाहिरिए। यसअघि पनि उपमहानगरपालिकाका एक कर्मचारीलाई हातपात गर्दा मेयर चौधरीले क्यामेरा बन्द गर्न लगाएका थिए ।