धरान : एसइई स्पिकर धरान फस्ट रनर अप रेजिना बि.क.लाई धरान–१२ स्थित धरान मेघा कलेजले प्लस टु अध्ययनका लागि ६५ प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ ।

बुधवार कलेजमा एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे र प्रिन्सिपल भास्कर पौडेलले रेजिनालाई खँदा लगाएर सम्मान गरे ।

रेजिना बुधवार नै कलेजमा म्यानेजमेन्ट विषय लिएर भर्ना भई सकेकी छिन । र्‍याडिकल लाइट नेपाल प्रा.लि.धरानले आयोजना गरेको एस.ई.ई.स्पिकर धरानको गत साउन २३ गते भएको फाइनलमा “नेपालको विकासमा जलश्रोतको महत्त्व“ शीर्षकमा आफ्नो बिचार व्यक्त गरी रेजिना फस्ट रनर अप भएकी थिइन ।

धरान मेघा कलेज र र्‍याडिकल लाइट बिच फस्ट रनर अपलाई ५० प्रतिशत छात्रवृत्ति दिने सहमति भए पनि विद्यार्थीलाई हौसला स्वरूप ६५ प्रतिशत छात्रवृत्ति प्रदान गरिएको कलेजका एकेडेमिक डाइरेक्टर घिमिरेले जानकारी दिए ।

छात्रवृत्ति पनि पाएको र कलेजको शैक्षिक वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने कलेजको उद्देश्य राम्रो लागेकोले आफू धरान मेघा कलेजमा भर्ना भएको रेजिनाले बताइन ।

रेजिनाले २०७७ सालको एसइई शारदा बालिका नमुना मा.बि.बाट दिएकी थिइन । हालै प्रकाशित भएको एसइई को नतिजा अनुसार उनले ३ दशमलव ५५ जिपिए प्राप्त गरेकी छिन ।