धरान : धरान उपमहानगरपालिकामा ५० वर्ष देखि ५४ वर्ष उमेर समूहलाई लक्षित गरेर आज देखि फेरि कोरोना विरुद्धको खोप अभियान सुरु हुदैछ ।

यस पटक धरानमा तीन चरणमा तीन दिन चल्ने खोप अभियान अन्तर्गत आज पहिलो दिन धरान १, २, ३, ४, ५, ६, ७, ८, ९ र ११ नम्बर वडामा खोप अभियान सञ्चालन हुदैछ ।

धरान-१ का लागि धरान स्वास्थ्य चौकी छाता चौकबाट ११० जना, धरान-२ का लागि पुरानो बालिका स्कुल सिंहदेवी चौकबाट ६० जना, धरान-३ का लागि भानु स्मृति माविबाट ९० जना, धरान-४ का लागि पुरानो वडा कार्यालय खैरेनीटारबाट ६० जना, धरान-५ का लागि पाचकन्य स्वास्थ्य चौकीबाट १६० जना, धरान-६ का लागि सरस्वती उच्च मावि पानबारीबाट ११० जना, धरान-७ का लागि सिद्धि नेःवा परिषदबाट ६० जना, धरान-८ का लागि धरान सभागृहबाट २४० जना, धरान-९ का लागि समिट माविबाट ८० जना र धरान-११ का लागि ज्ञानोदय माविबाट २४० जना गरी जम्मा १० वटा खोप केन्द्रबाट १२१० जनालाई कोरोना विरुद्धको अमेरिकन खोप जोनसन एन्ड जोनसन लगाइने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

आज बिहान १० बजे देखि सुरु हुने खोप अभियानमा १० जना सुपरभाइजर, १२ जना भ्याक्सिनेटर र १४ जना सहयोगी परिचालित हुनेछन् ।

विगतमा खोप अभियान अव्यवस्थित भएको व्यापक जनगुनासो आएपछि यस पटक वडावाईज खोप केन्द्र तोकी व्यवस्थित बनाउन लागिएको बताइएको छ । खोप लगाउन आउनेले अनिवार्य आफ्नो परिचय खुल्ने कागजात लिएर आउन पनि स्वास्थ्य महाशाखाले अनुरोध गरेको छ ।

धरानमा यस पटक अमेरिकन जोनसन एन्ड जोनसन खोप ४४६० डोज आएको पनि स्वास्थ्य महाशाखाले जनाएको छ ।

Khop-3