धरान : प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले विनम्र बन्ने तर कमजोर नबन्न प्रदेश १ का प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूलाई निर्देशन दिँदै उनले सो कुरा बताएका हुन् । प्रहरी कर्मचारीहरूको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरशः पालना गर्दै नागरिक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागी पर्न निर्देशन दिए ।

त्यसै गरी शून्य सहनशीलताको अक्षरशः पालना गर्दै विविध जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी अनुसन्धान पद्धतिलाई प्रविधिमैत्री बनाउँदै, प्रमाण र परिणाममुखी अनुसन्धान पद्धतिबाट आम नागरिकहरूलाई प्रत्याभूत हुने गरीको सुरक्षा व्यवस्था मिलाउन भन्दै महानिरीक्षक थापाले विविध अपराधीक घटनाहरू नियन्त्रणमा बहु आयामिक तरिकाबाट कार्य गर्दै थप सशक्त रूपमा काम कारबाही गर्न निर्देशन दिए ।

अवलोकन भ्रमणकै क्रममा प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग अन्तरक्रिया समेत गरेका थिए । प्रहरी कार्यालयका प्रमुखहरूले आ–आफ्नो जिल्लाको बारेमा प्रस्तुतीकरण गरेका थिए भने १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी. ले समग्र प्रदेशको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरण पश्चात् प्रहरी प्रमुखहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले फरार अपराधीहरूको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरूलाई प्राथमिकतामा राखी फर्छ्यौट गर्न र हिरासत व्यवस्थापन तर्फ विशेष ध्यान दिन साथै लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तर्फ विशेष चनाखो हुन र महिला तथा बालबालिका माथि हुने हरेक घटनालाई गम्भीरता पूर्वक लिन समेत निर्देशन दिए ।

उनले कुनै पनि नागरिकलाई बिना झन्झट प्रहरी सेवा प्राप्त गर्ने वातावरण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरूले नागरिकहरू सँग शिष्ट व्यवहार गर्न समेत निर्देशन दिए । यसका साथै बर्षातको समय भएकोले बाढी, पहिरो डुबान लगायतका घटना हुने भएकोले उद्धार टोली र उद्धार सामाग्रीहरू सहित तयारी अवस्थामा रहन तथा कोभिड १९ को रोकथाम तथा नियन्त्रण तर्फ विशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको समेत निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरू समेतलाई निर्देशन दिए ।