इटहरी : नेपाली काँग्रेसले इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीलाई कार्यालयमा प्रवेश निषेध गरेको छ । स्वेच्छाचारी ढङ्गले जनतालाई दुःख दिने काम गरेको भन्दै काँग्रेसले कार्यालय प्रवेशमा रोक लगाएको हो ।

मेयरले अमानवीय व्यवहार प्रस्तुत गर्दै जनतालाई दुखदिने काम गरेको भन्दै काँग्रेसले विरोध जनाएको हो । बुधवार इटहरी ४ का याम प्रसाद ढकाललाई कार्यालयमा बोलाएर थुनेपछी मेयरको विरुद्धमा प्रदर्शन सुरु भएको हो । सोही दिन नै मेयर भवनमा ताला लगाएको काँग्रेसले सार्वजनिक माफी माग्नुपर्ने माग राखेको छ ।

बिहीबार उपमहानगरपालिका अगाडी १ घण्टा प्रदर्शन गरेर कार्यालयकी निमित्त प्रमुख भोजकला दवाडीलाई ज्ञापन पत्र बुझाएको छ । इटहरीका प्रतिष्ठित व्यक्ती तथा संस्थाको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै काँग्रेसले खेद व्यक्त गरेको छ ।

सार्वजनिक जग्गा खोज्ने नाममा जनतालाई दुःख दिने काम बन्द गर्नुपर्ने काँग्रेसको माग छ । सार्वजनिक जग्गामा बनेका संरचना हटाउँदा जनताको वैकल्पिक बसोबासको व्यवस्था मिलाउनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

विगतमा सूचना प्रकाशित भएका व्यक्तीगत तथा संस्थागत भौतिक संरचना हटाई खोला तथा पैनीको संरक्षण गर्नुपर्ने काँग्रेसको माग छ । त्यस्तै मेयर चौधरीले आफ्ना गतिविधि प्रति आत्मालोचीत हुँदै विधि प्रक्रिया र कानुन बमोजिम कार्यसम्पादन गर्नुपर्ने काँग्रेसले जनाएको छ ।

मंगलबार पनि मेयर चौधरीले इटहरी १२ मा एक होटेल व्यवसायीको निर्माणाधीन रिसोर्टमा डोजर चलाएका थिए । सार्वजनिक जग्गामा बनेको भन्नै बिना प्रमाण पर्खाल भत्काएका हुन् । बुधवार बिहान खोला उत्खनन गर्न पुगेका मेयर चौधरी स्थानीयको विरोध पछि फर्किएका थिए । 

congress-letter-mayar