धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज छापा मारेको छ ।

प्रतिष्ठानको स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौँको अनियमितता भएको सार्वजनिक भएपछि अख्तियारको टोली प्रतिष्ठान आइपुगेको हो ।

अख्तियारको इटहरीस्थित कार्यालयले समन्वय गरेको यो टोलीमा अख्तियारको केन्द्रबाटै एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा ५ जनाको टोली प्रतिष्ठान आइपुगेको हो ।

प्रतिष्ठान आइपुगेको अख्तियारको टोलीले केही कागजात नियन्त्रणमा लिएको बताइएको छ । प्रतिष्ठानका उपकुलपति काठमाडौँ गएकोले प्रतिष्ठानको खरिद शाखा, कार्यालय प्रमुखहरू, आर्थिक तथा लेखा महाशाखाहरूसँग छलफल तथा सोधपुछ गरेको बताइएको छ ।

प्रतिष्ठानको खरिद र निर्माणमा उजुरी परेको सम्बन्धमा छानबिनका लागि अख्तियारको टोली केन्द्रीय टोली आएको र अनियमितताको बारेमा छानबिन सुरु गरेको एसपी तामाङले बताए ।

प्रतिष्ठानमा खरिद अक्सिजन प्लान्ट, एमआरआई, सिटिस्क्यान, एमसीएच भवन, फार्मेसी भवन निर्माणमा करोडौँको चलखेल भएको बताइएको छ ।