धरान :  धरान-१ रेडक्रस देखि धरान-१४ विजयपुर चौकसम्म पुग्ने 'सेल्फी रोड'ले परिचित विजयपुर जाने सडक भत्किएको छ ।

सेल्फी रोडले परिचित यो सडक रेडक्रसको घुम्तीदेखि केही मास्तिर करिब १० मिटर जति सडकको छेउ भत्किएको छ ।

धरान नगरको गौरबको आयोजना र मजवुत सडक भनिएकोमा सामान्य बर्षादले पनि भत्किनुमा भौगोलिक अवस्थाको परीक्षण नभई बनेको सडक भएका कारण भत्किएको हुन सक्ने स्थानीयहरू बताउँछन् ।

पाँच महिना अगाडि निर्माण सम्पन्न भएको रेडक्रस विजयपुर सडक भत्किनु विजयपुरको भौगोलिक अवस्थालाई ख्याल नगरी सडक निर्माण गरिएकाले पहिरोको कारण सडक भत्किएको स्थानीय रमेश अधिकारी.बताउँछन् । निर्माणसँगै अनुगमन नहुँदा यस्तो समस्या आउने गरेको उनले बताए ।

रेडक्रसदेखि आदिवासी जनजाति संंग्राहालय, केन्द्रीय प्रविधि क्याम्पस हुँदै विजयपुर चौकसम्मको करिब २ किलोमिटरको सडक अक्सपल्ट प्रविधिबाट कालोपत्रे ५ महिना अगाडी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ ।

सडक छेउमै भिरालो जमिन भएका कारण सडक गुणस्तरीय भए पनि भौगोलिक अवस्थालाई नबुझी सडकको तलतिर कुनै सपोर्ट नभएका कारण सामान्य वर्षाले पनि थप सडक भत्कीने जोखिम बढेर गएको धरान-१४ का स्थानीय लक्ष्मण भट्टराईले बताए ।

आर्शिवाद निर्माण सेवाका ठेकेदार केशर बुढाथोकीले सडकको डिजाइन नै गलत भएको बताए । उनले भौगोलिक अवस्थालाई नहेरी डिजाइन बनाएकोले डिजाइन सुधार्न पटक पटक आग्रह गरेको बताए।

धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठका अनुसार सडक निर्माण पूर्व रिटेनिङवाल लगाउनु पूर्व जग्गाधनीले सडक तिर माटो थुपारेको अर्थात् पुरेकोले रिटेनिङ वाल मजबुत नभएको र पुरुवा माटो भएकोले रिटेनिङवाल कमजोर भई चर्किदा बुधवार परेको पानी चर्किएको गाह्रो हुँदै बग्दा करिब १० मिटर सडकको छेउ भत्किएको हो।

भत्किएको सडकको आज सडकको ठेकेदार र नगरपालिकाका इन्जिनियर सहितको टोलीले अनुगमन गरेको छ। भत्किएको सडक मर्मतका लागि लगत स्टीमेन्ट बनाएर चाडै मर्मत गर्ने धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

सडक सञ्चालनमा आएको भए पनि अहिले सम्म उद्घाटन भएको थिएन। सडक सञ्चालनमा आएको हप्ता दिनमा कालोपत्रे उप्किएको भन्दै निकै आलोचित भएको विजयपुर जाने सो सडक ५ महिनामै फेरि सडकको रिटेनिङ वाल भत्किनुले सडक निर्माणको गुणस्तरमा प्रश्न चिन्ह खडा गरेको छ ।

Selfi-Road-1