धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको आर्थिक अनियमितताको विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट आएको टोलीले आज देखि छानबिन सुरु भएको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा ५ जना र इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट १ जना गरी ६ जनाको टोलीले दिउसो प्रतिष्ठान आइपुगेर केही महत्त्वपूर्ण कागजातहरू जफत गरी अनुसन्धान सुरु गरेको एसएसपी तामाङले बताए।

प्रतिष्ठान आइपुगेपछि अख्तियारको टोलीले आर्थिक अनियमितताको बारेमा छानबिनमा सहयोग पुग्ने केही कागजातहरू जफत गर्नुका साथै विभिन्न विभागका प्रमुखहरू र सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरेको थियो।

प्रतिष्ठानको अनियमितताको छानबिनका लागि आवश्यक पर्ने कागजपत्र नियन्त्रणमा लिने क्रम जारी रहेको पनि एसएसपी तामाङले कपुरी न्युजलाई जानकारी दिए। अनुसन्धान गर्दा चाहिने कागजातहरू खोज्नेक्रम जारी रहेको छ। आवश्यक परे सिल गरेर पनि अनुसन्धानलाई अगाडी बढाउने उनले बताए ।

खरिद र निर्माणबारे अख्तियारमा उजुरी परेकोले एसएसपी तामाङले छानबिन र अध्ययनको लागि अझै केही दिन लाग्ने भएकोले आफ्नो टोली इटहरी अख्तियारको कार्यालयमा रहेर दैनिक अनुसन्धान गर्ने बताएका छन्। अनुसन्धान केही दिन लाग्ने भएको पनि उनले बताए ।

बिपिमा विगत २ महिनादेखि अनियमितता छानबिन गर्न र दोषीलाई कारबाही गर्नलगायत माग गर्दै आन्दोलन भइरहेको छ।

BPKIHS-NEw