धरान : धरानका मेयर तिलक राईको नेतृत्वमा काठमाडौँ पुगेको राजनीतिक गठबन्धनको समूहले विभिन्न मन्त्रालयमा गएर धरानको विकास निर्माणको बारेमा ध्यानाकर्षण गराएको छ ।

बिहीबार कानुन मन्त्रालय, अर्थ मन्त्रालय र जन स्वास्थ्य वातावरण मन्त्रालय पुगेर ध्यानाकर्षण गराएका हुन् । डेलिगेसनको क्रममा मेयर राई सहितको टोलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका बेथितिको बारेमा समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।

धरानको खानेपानी, सेउती र सर्दु करिडोर निर्माण, विद्युत राष्ट्रिय प्रसारण लाईनको धरानमा स्वस्टेसन, बसपार्क, सुरुङ्गमार्ग, कोरोना विरुद्धको खोप, धरानमा भएका पुल, धरान–विष्णुपादुका कालोपत्रे पर्यटकीय पूर्वाधार निर्माण लगायत योजनाका लागि पर्याप्त बजेटको व्यवस्था गर्न आग्रह गरे ।

मेयर राईले जोगबनी–किमाथाङ्का सडकको धरान बजार खण्डको मापदण्ड परिमार्जन गरी ८० फिट कायम गर्न माग गरेका छन् ।

न्याय तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खानेपानी र धरान वडा नं. २० स्थित विद्युत स्वस्टेसन बनाउने बारे आफूले हेरिदिने आश्वासन दिएका छन् । साथै, उनले धरानसँग जोडिएका विकास निर्माणका विषयहरूमा साथ सहयोग रहने बताए ।

अर्थमन्त्री जनार्दन शर्माले उक्त योजनाहरूको लिखित प्रस्तावका साथै गरिबी अन्त्य गर्न धरानमा रहेका सीमान्तकृत वर्गको तथ्याङ्क सङ्कलन गरी ठोस योजना उपमहानगरपालिकासँग माग गरेका छन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी सहित चारै जना कार्यकारिणीले राजीनामा नदिए कारबाही गरिने कुरा धरान उपमहानगरपालिकाको प्रतिनिधि मण्डललाई बताए ।

मन्त्रालयमा भएको छलफलमा मेयर तिलक राईले बिपीका बारेमा छानबिन समितिले दिएको प्रतिवेदन चाँडो कार्यान्वयन गर्न माग गरे । अख्तियारको पटक पटकको छानबिन, आन्दोलनको माग, छानबिन समितिको रिपोर्टको अधारमा उनीहरूले राजीनामा दिनुपर्ने मन्त्रीको भनाई छ ।

प्रतिष्ठान ऐनमा ६ जना सिनेट सदस्यले कुलपति तथा प्रधानमन्त्री समक्ष उजुरी दिए सिनेटहरू मध्येबाट ३ सदस्यीय समिति बनाई बर्खास्त गर्न सकिने व्यवस्था छ । प्रदेश नं. १ र २ बाट वीपी प्रतिष्ठानमा उपचारका लागि धेरै बिरामी आउने भएका कारण कोरोना सङ्क्रमितको दर र मृत्युदर धरानमा उच्च भएको भन्दै कोरोना विरुद्धको खोप लगाउन धरानलाई विशेष प्राथमिकतामा राख्न मेयर राईले आग्रह गरे ।

मेयर राईले धरानका लागि पर्याप्त खोप प्राप्त नभएको गुनासो व्यक्त गरे । मन्त्री श्रेष्ठले दुई महिनाभित्रमा १ करोड ५ लाख खोप आइपुग्ने बताउँदै कोरोनाको उच्च जोखिम भएको ठाउँमा खोप पर्याप्त रूपमा वितरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

मेयरको नेतृत्वमा धरानबाट संघीय सांसद जयकुमार राई, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष रमेश बस्नेत, नेकपा माओवादी केन्द्रबाट मुक्सामहाङ मेन्याङ्बो, चोत्लुङ मेन्याङ्बो, नेपाली काङ्ग्रेसबाट श्याम पोख्रेल, नेकपा एमालेबाट नारायण सुबेदी, जनता समाजवादी पार्टीबाट ताजुब लिम्बु, नागरिक समाजबाट डा. कमल तिगेला, धरान १७ का वडाध्यक्ष मनोज भट्टराई, सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गिरिधारी सापकोटा, वरिष्ठ पत्रकार हर्ष सुब्बा र भवानी बराल लगायतको टोली काठमाण्डौमा रहेका छन् ।

KTM-2