इटहरी : खोला र पैनीमाथि निमार्ण भएका एमाले पार्टी कार्यालय र हाम्रो बोर्डिङ स्कुलको भवन भत्काउन इटहरीका मेयर द्धवारीकलाल चौधरीलाई काँग्रेसले चुनौती दिएको छ।

सार्वजनिक जग्गा, खोला वा पैनी संरक्षण गर्ने हो भने सुरुमा एमाले पार्टी कार्यालय र हाम्रो बोर्डिङ भत्काउन चेतावनी दिएको हो।

बुधवार इटहरीका एक स्थानीयलाई मेयरले कार्यकक्षमा थुनेपछि काँग्रेस विरोधमा उत्रिएको छ । मेयर भवनमा तला लगाएको काँग्रेसले चौधरीलाई प्रवेश निषेध गरेको छ । मेयरले सार्वजनिक माफी माग्नुपर्ने भन्दै काँग्रेसले बिहीबार बिहान उपमहानगरपालिका अगाडी प्रदर्शन गरेको छ ।

साँझमा इटहरी उपमहानगरपालिकाको प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गर्दै काँग्रेसले सार्वजनिक जग्गा खोला र पैनी संरक्षण गर्ने नाममा जनतालाई दुःख दिने काम आपत्तिजनक भएको बताएको छ । नेपाली काँग्रेस नगर सभापति हेमकर्ण पौडेलले राजनैतिक पूर्वाग्रहको आधारमा व्यवहार गरिनु खेदजनक भएको बताएका छन्।

सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने काममा काँग्रेस सहयोग गर्न तयार भएको तर जनतालाई दुःख दिने नियतले भएको पछिल्ला गतिविधि प्रति आपत्ति रहेको उनले बताए । आफूले गल्ती गरेर विषयलाई तोडमोड गर्न व्यक्तिगत आरोपमा उत्रिने मेयरको कदम लज्जास्पद भएको उनको भनाई छ । राज्यको सम्पत्ति दुरुपयोग गरेर जथाभाबी जनतालाई दुःख दिएर मेयरले इटहरीकै बेइज्जत गरेको पौडेलले बताए ।

“नियम र विधि पुर्‍याएर गल्ती गर्नेलाई कारबाही गरे हुन्छ । तर व्यक्तिगत रूपमा दुख दिन पाइँदैन,” चेतावनी दिँदै उनले भने

केही दिन अगाडी देखी मेयर चौधरी अराजक तरिकाले व्यक्तिगत पूर्वाग्रह साध्ने हिसाबमा लागी परेको भन्दै त्यस्ता खालका गतिविधि सुधार्नुपर्ने काँग्रेसको ठहर छ । मेयर चौधरीले नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार समेत रहेका रोहित प्रसाईँले सार्वजनिक जग्गा मिचेको भन्दै फेसबुक स्ट्याटस लेखेपछि पत्रकार सम्मेलनको आयोजना गरेर काँग्रेसले चेतावनी दिएको हो ।

मेयर पदका उम्मेदवार रोहित प्रसाईँले हिम्मत भए ऐलानी प्रमाणित गरेर देखाउन चेतावनी दिएका छन् । मेयरले बुधवार इटहरीका एक स्थानीयलाई कार्यकक्षमा थुनेपछि विरोध जनाएको काँग्रेसको ध्यान भङ्ग गर्न मेयरले नयाँ रणनीति अपनाएको उनले बताए । यस्ता गलत र भ्रमपूर्ण कुरा गरेर जनताको ध्यान मोड्न खोज्ने विरुद्ध काँग्रेस विचलित नहुने प्रसाईँको भनाई छ ।

“काँग्रेसलाई तर्साउन खोजेको हो भने त्यो निरर्थक हुन्छ ।,” उनले भने, "भवन निमार्ण इजाजत दिने अनि कानुनी प्रक्रिया नपुर्‍याई जथाभाबी गर्न खोज्दा हामी सहेर बस्दैनौ । हामी रतिभर पनि भयभीत भएका छैनौ । मेयरलाई मेरो एउटै आग्रह अझै नसुध्रिने हो भने ठुलो मूल्य चुकाउन तयार हुनुहोला ।"