धरान : धरान उपमहानगरपालिकामा हिजो देखि सुरु भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत आज दोस्रो चरणमा धरानका १० वटा वडामा अमेरिकन जोनसन एण्ड जोनसन खोप लगाईदैछ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार आज दोस्रो चरण अन्तर्गत धरान १०,१२,१३,१४,१५,१६,१७,१८,१९ र २० नम्बर वडाहरूमा ५० वर्ष देखि ५४ वर्ष उमेर समुहकाहरुलाई कोरोना विरुद्धको अमेरिकन खोप जोनसन एण्ड जोनसन लगाईदैछ ।

जस अनुसार धरान-१० का लागि सैनिक भवनबाट ८० जना, धरान-१२ का लागि पब्लिक हाई स्कुलबाट ६० जना, धरान-१३ का लागि आधारभूत स्वास्थ्य केन्द्रबाट १९० जना, धरान-१४ का लागि दन्तकाली माविबाट ७० जना, धरान-१५ का लागि पूर्वाञ्चल ज्ञानचक्षु माविबाट ३७० जना, धरान-१६ का लागि चन्द्र संस्कृत माविबाट २२० जना, धरान-१७ का लागि पञ्चकन्या माविबाट ३२० जना, धरान-१८ का लागि कार्मेल हाई स्कुलबाट १२० जना, धरान-१९ का लागि किरातेश्वर माविबाट १०० जना र धरान-२० का लागि बिष्णुपादुका स्वास्थ्य चौकीबाट ६० जना गरी आज जम्मा १५९० जनालाई खोप लगाईदैछ ।

आज १० वटा खोप केन्द्रबाट १० जना सुपरभाइजर, १२ जना भ्याक्सिनेटर र १७ जना सहयोगी परिचालन गरिएको छ । विगतमा ७ वटा खोप केन्द्रहरूबाट खोप लगाइँदै आएकोमा पछिल्लो समय धरानमा खोप केन्द्रमा बढी भिडभाड हुनुको साथै अव्यवस्थित भएको जनगुनासो आएपछि यस पटक वडा वडामा १० वटा खोप केन्द्रबाट नगरवासीलाई कोरोना विरुद्धको खोप लगाइएको हो ।

कोरोना विरुद्धको खोप अभियान अन्तर्गतको हिजो पहिलो दिन धरान १ देखि १० नम्बर वडा बाहेक ११ नम्बर वडा सम्मका ५० देखि ५५ वर्ष उमेर समूहका ६९५ जना महिला र ७२० जना पुरुष गरी १४१५ जनाले खोप लगाएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए ।

यसै गरी भोलि तेस्रो चरणमा धरान औद्योगिक क्षेत्रका कर्मचारीहरू, श्रमिकहरू, सार्वजनिक यातायातका चालकहरू, सहचालकहरू, धरानमा रहेका पुनर्स्थापन केन्द्रका कर्मचारी र उपचाररत रहेका व्यक्तिहरू, दैनिक उपभोग्य बस्तु खाद्यान्न,तराकारी र मासु पसलका व्यक्तिहरूलाई खोप लगाइने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

Khop-4