धरान : युवा दिवसको अवसर पारेर धरानमा नेपाल जेसीजको क्षेत्र ‘क’ तालिम प्रतिष्ठानको उद्घाटन भएको छ । 

धरान जेसीजको अध्यक्ष मणिराज अधिकारीको सभापतित्वमा कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनालले धरान–३ स्थित धरान जेसीज सचिवालयमा स्थापित उक्त प्रतिष्ठानको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि खनालले उक्त तालिम प्रतिष्ठानले क्षेत्र ‘क’ लाई तालिममय बनाउन आग्रह तथा सुझाव प्रदान गरे । यसै गरी उनले त्यसका लागि तालिम प्रतिष्ठानलाई आवश्यक पर्ने सामाग्री तथा साथ सहयोग प्रदान गर्ने समेत बताए । 

कार्यक्रममा नेपाल जेसीज क्षेत्र ‘क’ का निरूपित कार्य कारिणी उपाध्यक्ष अरुणकुमार दाहालले उक्त प्रतिष्ठानद्वारा क्षेत्र ‘क’ का विभिन्न शाखाहरूमा प्रभावकारी तालिम सञ्चालन गर्दै कुशल प्रशिक्षकहरू समेत उत्पादन गर्नुपर्ने बताए ।

यसै गरी नेपाल जेसीजको ४ वटा क्षेत्र मध्ये क्षेत्र ‘क’ को लागि धरान जेसीजले तालिम प्रतिष्ठानको सचिवालय सञ्चालन गर्ने अवसर प्राप्त गरेकोमा धरान जेसीजकी तालिम निर्देशक सज्नु राई (सुमित्रा)ले नेपाल जेसीजलाई धन्यवाद प्रदान गरिन् ।

निर्देशक राईको अनुसार तालिमको माध्यमबाट १८ देखि ४० वर्ष उमेरका युवाहरूको व्यक्तित्व र नेतृत्व क्षमताको विकास गरी समाजलाई असल तथा सक्षम युवा हस्तान्तर गर्ने जेसीजको उद्देश्य अनुसार नेपाल जेसीजको ४ वटा क्षेत्र अन्तरगत १६१ वटै शाखाहरूमा विभिन्न तालिमहरू सञ्चालन हुँदै आइरहेको छ । 

कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष तथा अन्तर्राष्ट्रिय उपाध्यक्ष राजबिमल श्रेष्ठ, नेपाल जेसीज क्षेत्र ‘क’ का निरूपित उपाध्यक्ष प्रमिसा काफ्ले, नेपाल जेसीजका उपाध्यक्षहरू गौतम शाह, विमला सुबेदी (कार्की), सुनिल तिम्सिना, राष्ट्रिय तालिम आयुक्त मनिष श्रेष्ठ, धरान जुनियर जेसीजका अध्यक्ष साहिल भुजेल लगायतका राष्ट्रिय पदाधिकारी, धरान जेसीजको पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरू र धरान जुनियर जेसीजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।