झापा : बिरामी बोक्ने एम्बुलेन्स चालकहरू कोरोनाविरुद्ध अभियानका अग्रपङ्क्ति योद्धा (फ्रन्टलाइनर) हुन् ।
दुःखको कुरा उनीहरूले नै अहिलेसम्म खोप लगाउन पाएका छैनन् ।

बिर्तामोडस्थित बजरङ मेडिकलको मे १ च १०५० नम्बरको एम्बुलेन्स चलाउँदै आएका चालक चेतन राईले बिर्तामोड क्षेत्रका लगभग २८ जना एम्बुलेन्स चालकले खोप लगाउन नपाएको गुनासो गरे । खोप लगाउन नपाउँदा घरमा बालबच्चा सहित परिवारका सदस्यहरू कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका उनले बताए ।

खोपको व्यवस्था मिलाइदिनु बिर्तामोडका मेयर ध्रुव सिवाकोटीलाई आग्रह गरिएको तर अहिलेसम्म सुनुवाइ नभएको एम्बुलेन्स चालकहरूको भनाई छ । दलका र मजदुर युनियनका नेताहरू समक्ष यो समस्या पुर्‍याइसकेको तर कतैबाट काम नभएको राईको गुनासो छ ।

बिर्तामोडमा ९०० शय्याको प्रस्तावित बीएन्डसी मेडिकल कलेजदेखि सयभन्दा बढी शय्याका बिर्तासिटी र मनमोहन, ५० शय्याको कनकाई, कञ्चनजङ्घा, अञ्जलि लगायतका अस्पताल समेत रहेको छ ।

आँखा उपचार गर्ने ठुला अस्पताल पनि बिर्तामोडमा छन् । बीएन्डसी र विर्तासिटीमा कोरोना उपचार केन्द्र सञ्चालन भइरहेको छ । एम्बुलेन्सको सङ्ख्या समेत बिर्तामोडमा ज्यादा रहेको छ ।

एम्बुलेन्स चालकहरूलाई सामूहिक रूपमा खोप लगाउने व्यवस्था मिलाइदिन उनीहरूले नगरपालिका र जिल्ला प्रशासन कार्यालयसमक्ष माग समेत गरेका छन् ।