धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा काठमाडौँ पुगेको टोलीले शुक्रवार नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव लगायतलाई भेट गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिको बारेमा ध्यानाकर्षण गराएको छ ।

मेयर राई सहित गएको प्रतिनिधि मण्डलले शुक्रवार वरिष्ठ नेता नेपालको निवासमा गएर प्रतिष्ठानको बारेमा ध्यानाकर्षण गराएका हुन् । वरिष्ठ नेता नेपालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिप्रति आफू चिन्तित रहेको बताए ।

छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाइसकेको अवस्थामा तत्काल सरकारले त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउँदै वरिष्ठ नेता नेपालले पूर्वप्रधानमन्त्रीको हैसियतले सरकारलाई खबरदारी गर्ने प्रतिनिधि मण्डललाई बचन दिए ।

प्रतिवेदनमा र आन्दोलनरत पक्षसँग सरकारी टोलीले गरेको सम्झौतामा वीपीलाई बरबादीबाट जोगाउन उपकुलपति सहित चारै जना पदाधिकारीलाई हटाउने उल्लेख छ । मेयर तिलक राईले छानबिन समितिको प्रतिवेदन हस्तान्तरण गर्दै वीपी प्रतिष्ठानलाई बरबाद हुनबाट जोगाउन नेता नेपाललाई भूमिका खेल्नका लागि आग्रह गरे ।

यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पैसा दिएर उपकुलपति नियुक्त गर्ने प्रथा सहितको ऐन संशोधन गर्ने कुरामा जनता समाजवादी पार्टीका नेताहरूले पहल गर्ने बताएका छन् ।

मेयर राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डललाई जसपाका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र नेता रकम चेम्जोङले प्रतिबद्धता जनाएका हुन् । पैसा दिएर उपकुलपति लगायत पदाधिकारी नियुक्त गर्ने प्रथाकै कारण वीपी प्रतिष्ठान घरायसी बन्दै गएको अध्यक्ष यादवले बताए ।

उनले पैसाकै कारण प्रतिष्ठानमा क्लिनिकका डाक्टर उपकुलपति बनेको बताए । अध्यक्ष यादवले छानबिन समितिको प्रतिवेदन बुझिसकेको अवस्थामा तत्काल सरकारले त्यसलाई कार्यान्वयन गर्नुपर्ने कुरामा पार्टी प्रतिबद्ध रहेको बताए ।

वरिष्ठ नेता राईले वीपीमा तत्काल हस्तक्षेप गरेर व्यवस्थापनमा आमूल परिवर्तन नगरे वीपीको हालत जनकपुर चुरोट कारखानाको जस्तो हुने भएकोले आफूले गम्भीर रूपमा हेरिरहेको बताए । उनले प्रा.डा लोकबिक्रम थापा उपकुलपति हुँदा वीपीमा आदिवासी जनजाति विद्यार्थी कोटा थप गर्ने निर्णय गरिएकोमा पछि आएका उपकुलपतिहरूले लागुनै नगरेको बताए ।

वरिष्ठ नेता राई सहकुलपति रहेको सिनेट सभाले आदिवासी जनजातिलाई ३ वर्गमा राखेर बर्सेनि ३ जनालाई कोटामा भर्ना लिइने नियम पारित गरिएको थियो ।

टोलीमा मेयर राईसँगै सङ्घीय सांसद जयकुमार राई, स्वतन्त्र मजदुर सङ्घका केन्द्रीय अध्यक्ष भिमज्वाला राई, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरीधारी सापकोटा, एमाले जिल्ला अध्यक्ष रमेश बस्नेत, एमाले धरान अध्यक्ष नारायण सुवेदी, जसपा धरान अध्यक्ष ताजुब लिम्बु, नेपाली काँग्रेस सचिव श्याम पोख्रेल, माओवादी केन्द्रका नेता चोत्लुङ, मुक्सामहाङ मेन्न्याङ्बो, अग्रज पत्रकार हर्ष सुब्बा लगायत गएका थिए ।

Jasapa