विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो जन्मदिन विराटनगर–१० को मानव सेवा आश्रममा मनाएकी छिन् ।

आश्रममा आश्रित ८५ जनासँग बसेर उनले जन्मदिन मनाएकी हुन् । मन्त्री राईले आश्रममा रहेकाहरूलाई शुक्रवार साँझको खाना खुवाएका थिए । मानव सेवा आश्रममा प्रदेश १ का विभिन्न जिल्लाहरूबाट उद्धार गरिएका सहयोगापेक्षी तथा सडक आश्रितहरू रहेका छन् ।

मन्त्री राईले प्रदेश १ सरकारले सडक आश्रित मानवमुक्त प्रदेश बनाउने अभियानमा रहेको बताइन् । मन्त्री राईले प्रदेश सरकारले मानव सेवा आश्रमसँगको सहकार्यमा विराटनगरमा सहयोगापेक्षी तथा सडक आश्रितहरूका लागि भवन पनि निर्माण भइरहेको बताइन् ।

मानव सेवा आश्रममा आयोजित कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङ, नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल, नेपाल खेलकुद महासङ्घका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष परशुराम बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक पुनम दाहालले मानव सेवा आश्रमले अहिलेसम्म गरेका कामका बारेमा मन्त्री राईलाई जानकारी गराएकी थिइन् । यसअघि मन्त्री राईको पहलमा मानव सेवा आश्रममा रहेकाहरूलाई कोभिड १९ विरुद्धको खोप लगाइएको थियो ।