धरान : सङ्खुवासभाको सदरमुकाम खाँदवारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईँलाई लागूऔषध अफिम सहित प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउसो १२ बजे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चापागाईँको घरमा लुकाई छिपाई राखेको लागूऔषध अफिम २०४ ग्राम फेला पारेको थियो । पक्राउ परेका चापागाईँ माथि थप अनुसन्धान भइरहेको छ ।

यसैबिच मोरङको बेलबारी स्थित छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–५ का ३४ वर्षीय खेम मगर र झापा मेचीनगर–३ का ३९ वर्षीय लोकबन्धु दर्नाल रहेका छन् ।

हिजो बेलुका ४ बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका–१० स्थित लक्ष्मीमार्गबाट मगरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६७ मिलिग्राम सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको भनी खुलाई दिए पश्चात् तत्काल प्रहरी टोली खटी दर्नाललाई बेलबारी नगरपालिका–३ पशु हटिया स्थितबाट ब्राउन सुगर ९ ग्राम ९३ मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।