धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशङ्कर शाहले वीपीका उपकुलपति, रेक्टर र रजिस्ट्रार तीनैजनाको राजीनामा माग गरेका छन् ।

निर्देशक शाहले आज एक विज्ञप्ति जारी गरी उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरु खनाल र रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै आफूले पनि प्रतिष्ठानको हितका लागि पद छोड्न तयार रहेको जनाएका छन् ।

पदाधिकारीको पदभन्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राध्यापक पदलाई आफ्नो जीवनको उपलब्धि मान्ने भन्दै उनले प्रतिष्ठानलाई हालको अवस्थाबाट मुक्त नगरे प्रतिष्ठान सधैका लागि बन्द अवस्थामा पुग्न सक्ने र यसै प्रतिष्ठानमा आफ्नो पेशागात जीवन अर्पण गर्ने मेरो आत्मबोधले हालको अवस्था सिर्जना गर्न जिम्मेवार म भन्दा वरिष्ठ तीन जना पदाधिकारीहरूको राजीनामासँगै प्रतिष्ठानमा नयाँ नेतृत्व स्थापित गर्न नेपाल सरकारलाई सहयोग गर्न आफू सदैव तयार रहेको नेपाल सरकार, प्रतिष्ठानका सेवाग्राही, प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा विद्यार्थी, नागरिक समाज, राजनैतिक दलहरू, पत्रकार मित्रहरू र अन्य सम्पूर्ण सरोकारवालाहरुसंग हार्दिक अनुरोध गर्दछु विज्ञप्तिमा उल्लेख गरेका छन् ।

डा. शाहले विज्ञप्तिमा आफ्नो नियुक्तिको भोलिपल्टै देखि शक्ति सङ्घर्षमा लागेर प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउने प्रतिष्ठानको आचार संहिता विपरीत गोपनीयता भङ्ग गरी एकले अर्कोलाई हानी गर्ने र चाहे पूर्ण उपकुलपतिको रूपमा वा कार्यवाहक उपकुलपति वा रजिस्ट्रारको रूपमा असीमित अधिकार एकल रूपमा प्रयोग गरी विवादास्पद निर्णयहरू गरेर प्रतिष्ठानको बदनाम गर्ने म भन्दा माथिल्लो तहका तीन जना पदाधिकारीहरूले तत्काल राजीनामा दिई प्रतिष्ठानलाई निकास दिनुपर्दछ भनेका छन् ।

उनले गत असार १५ गतेको आन्दोलनरत पक्षसँगको वार्तामा ’मादक पदार्थ सेवन गर्ने गराउने अनैतिक कार्यका साथ वार्तामा तीन जना पदाधिकारीहरू उपस्थित हुने र मादक पदार्थ सेवन सम्बन्धी सूचना गोप्य रूपमा समाजमा एसएमएस वा अन्य माध्यमबाट प्रवाहित गरी अतिरञ्जित गराई वार्ता असफल गराउने केही पदाधिकारीहरूबाटै रचिएको घटना भएको पनि उनले दाबी गरेका छन् ।

सो घटनामा आफूमा कोरोना सङ्क्रमण भई होम आइसोलेसनमा रहेकोले आफ्नो संलग्नता नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Bigyapti Bigyapti-1