धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा काठमाडौँ पुगेका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथितिको बारेमा ध्यानाकर्षण गराएको छ ।

मेयर राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलको टोलीले शनिवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ध्यानाकर्षण गराएको हो । प्रधानमन्त्री देउवाले छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन भइरहेको बताए ।

प्रधानमन्त्रीले छानबिन समितिको प्रतिवेदन अध्ययन गरिसकेपछि प्रक्रिया पुराएर दोषी उपर कारबाही गर्ने बताए । उनले वीपी प्रतिष्ठानको उद्देश्य अनुसार सबैको हित हुने व्यवस्थापन सुचारु गर्ने कुरामा सरकार गम्भीर रहेको बताए ।

शनिवार प्रतिनिधि मण्डलका संयोजक मेयर तिलक राई र नेकपा एमाले सुनसरीका अध्यक्ष रमेश बस्नेतले प्रधानमन्त्रीसँगको भेटमा ब्रिफिङ गरेका थिए । मेयर राईले वीपी प्रतिष्ठानमा दिनप्रतिदिन बेथिति बढ्दै गएको प्रधानमन्त्रीलाई जानकारी गराए ।

मेयर राईले वीपी प्रतिष्ठानलाई बरबाद हुनबाट जोगाउन प्रधानमन्त्री देउवालाई आग्रह पनि गरे । विद्यार्थीको कोटा, डाक्टरहरूले पाउनुपर्ने सेवा सुविधा कटौती गरेको बताउँदै मेयर राईले छानबिन समितिले बुझाएको प्रतिवेदनलाई तत्काल कार्यान्वयन गरेर कारबाही गर्न माग गरे ।

Griha

यस्तै, धरानको प्रतिनिधि मण्डलले शनिवार नै गृहमन्त्री बालकृष्ण खाँणलाई पनि भेट गरेका छन् ।

भेटमा प्रतिनिधि मण्डलले धरानमा भएका अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउनका साथै थप व्यवस्थित बनाउन माग गरेका छन् । गृहमन्त्री खाँणले धरानको शान्ति सुरक्षाका लागि अस्थायी प्रहरी चोैकीहरुलाई क्रमिक रूपमा स्थायी बनाउने धराने प्रतिनिधि मण्डललाई विश्वास दिलाए ।

त्यसका लागि जनशक्ति बढाउन बजेट जरुरी भएकोले देशैभरको त्यस्तो अवश्यकताका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको उनको भनाई थियो ।

शनिवार नै उर्जा मन्त्री पम्फा भुसाललाई पनि धरानको प्रतिनिधि मण्डलले भेट गरेको छ ।

भेटका क्रममा मेयर तिलक राईसहितको प्रतिनिधि मण्डलले कोसी कोरिडोर विधुत प्रसारण लाइनको लागि धरानको पहाडी भूगोलहरूमा स्थापना गरिएका टावर स्थलहरूमा भू–क्षयको जोखिम रहेकोले रोकथामको काम गरिनुपर्ने बारेमा उर्जा मन्त्री भुसाललाई ध्यानाकर्षण गराए ।

मन्त्री भुसालले नेपालको आर्थिक विकासमा दीर्घकालीन भूमिका खेल्ने राष्ट्रिय गौरवको योजना कार्यान्वयनको चरणमा रहेको बताउँदै दिगो विकासका लागि सबै किसिमका जोखिम रोकथाम गरिने विश्वास दिलाए । उनका अनुसार ऊर्जा मन्त्रालय अन्तर्गत दिगो विकासका लागि जोखिम रोकथामका योजना कार्यान्वयन गर्ने निकाय नै रहेको बताउँदै तत्काल भू–क्षयको जोखिम रोक्ने काम सुरु गर्न निर्देशन दिने बचन दिए ।

उनले आयोजनास्थलको अनुगमन गर्न आउँदो महिना धरान आउने बताउँदै परियोजनाको धरान सबस्टेशनको काम द्रुत गतिमा अघि बढेको बताए । मेयर तिलक राईले टावरहरू पहाडी भूगोलको भिरालो ठाउँमा रहेकोले टावर राख्न खनिएका सबै ठाउँमा भू–क्षय रोक्ने प्राविधिक निर्माण, सुरक्षाको घेराबारा नगरिएकोले जोखिम रहेको कुरामा ध्यानाकर्षण गराएका थिए ।

Urja