विराटनगर  : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले व्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताएकी छिन । उनले सामाजिक विकास मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरे पनि यो प्रदेशको गौरवको योजना भएको बताइन ।

सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डीङ तथा बजारीकरणका लागि गठन गरेको व्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री राईले सो कुरा बताएकी हुन ।

उनले प्रदेश १ मा रहेको श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै व्याण्ड भर्सेस ब्राण्ड अवधारणा ल्याइएको बताइन । कानुन अड्चनहरूलाई हटाउँदै अवधारणालाई कार्यान्वयन गर्नुपर्ने मन्त्री राईको भनाई छ । प्रतिवेदन ग्रहण गर्दै उनले भनिन,‘ समृद्धिको ढोका प्रदेश १ सरकारले खोल्यो ।’

प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनौट गरेर कोदो लगाउन सुरु गर्ने मन्त्री राईको भनाई छ । उनका अनुसार अब बनमारा मासेर कोदो लगाइने तथा गाउँपाखामा रहेको बनमारा उखेलेर कोदो रोपिने छ ।’ सामाजिक विकास मन्त्री राईले नेपालको उत्पादनलाई छिमेकी देशहरू भारत र चीनमा लगेर बजारीकरण गर्नुपर्ने बताइन । ,‘विदेशीहरू नेपाली उत्पादन खोजेर बसेका छन् , हामी दिन सकिरहेका छैनौँ ।’ व्याण्ड भर्सेस ब्राण्ड समाजवादको सूत्रधार समेत रहेको बताउँदै उनले सयौँ योजनाहरू यसमा रहेको बताइन ।

नेपाली घरेलु मदिराको उत्पादन सुरु भएपछि यो विश्वमा उत्पादित भन्दा सयौँ गुणा राम्रो गुणस्तरको हुने उनको दाबी छ । गुणस्तरीय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञ लगायतको टिम निर्माण गरिने समेत उनले जानकारी दिइन ।

कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूणै लोक्सोमले व्याण्ड भर्सेस ब्राण्ड बृहत् अवधारणा भएको बताए । १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरू, जनप्रतिनिधिलगायतसँग जानकारी सङ्कलन गरेर प्रतिवेदन तयार गरिएको उनले बताए ।