धरान : धरानमा नयाँ भेरिअन्ट सहितको कोरोनाको सङ्क्रमण दर उच्च हुँदै गएपछि पछि भदौ ४ गतेदेखि १० दिन सम्म कडा लकडाउन हुने भएको छ।

सोमबार दिउँसो उपमहानगरपालिकामा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल तथा सुरक्षा अधिकारीहरू सहित भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म पूर्ण लकडाउन गर्न सिफारिस गरेको हो।

बैठकले भदौ ३ गतेसम्म तयारी गर्ने र ४ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बैठकको यो निर्णयलाई भोलि मङ्गलवार धरानको नगर कार्यपालिका बैठकमा प्रस्तुत गरेर अनुमोदन गरेपछि मात्र जिल्ला प्रशासनमा पठाउने छ भने त्यस पछि जिल्ला प्रशासनले धरानमा लकडाउनको निर्णय गर्ने छ ।

यसैबिच सुनसरी जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि स्थानीय तहलाई नै लकडाउन गर्न सक्ने अधिकार दिएको थियो । प्रतिअ ढकालले भने ‘धरानका जनप्रतिनिधिले लकडाउन गर्न मानेका थिएनन् त्यसैले अन्य स्वास्थ्य विज्ञहरू र सरोकारवालाहरूको राय, सुझावको आधारमा धरानमा लकडाउन नै अन्तिम विकल्प भएको हो ।’

बैठकले ३ गतेसम्म सर्वसाधारणहरूलाई आवश्यक पर्ने सामान तथा खाद्यान्नहरू जोहो गर्न समय दिने र सूचित गर्ने पनि जनाएको छ । बैठकमा मेयर तिलक राईले पूर्ण लकडाउन गर्न आफूहरूको बाध्यता भएको बताए ।
धरानमा प्रत्येक दिन औसतमा २५ देखी ३० जनामा सङ्क्रमण देखा परेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार हाल धरानमा सक्रिय सङ्क्रमित ३ सय बढी रहेका छन् ।

कोरोनाको दोस्रो लहरमा धरानमा ५ हजार ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १ सय ४३ जना सङ्क्रमितको मृत्यु भएको थियो । ४ हजार ८ सय बढीले कोरोना पराजित गरेका छन्।

उपमहानगरपालिकाका अनुसार लकडाउनका अवधिमा सर्वसाधारण घरबाट निस्किन समेत पाउने छैनन् भने १० दिनदेखि उता लकडाउन गरिने छैन । दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडबाडमा लकडाउन गर्न नपरोस् भनेर समयमा नै यस्तो निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ७ गतेसम्म निषेधाज्ञा समेत लम्ब्याएको छ ।

dharan-lockdown-bhadra-10