धरान : धरानमा दश दिन लकडाउन हुने भएको छ । मेयर तिलक राईको अध्यक्षतामा आज (मङ्गलबार) उपमहानगरपालिकामा बसेको कार्यपालिकाको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।

हाल विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस धरानमा पनि समुदाय स्तरमा नै फैलिरहेको कारण यसको रोकथामका लागि भदौ ४ गते शुक्रवारदेखि १३ गते आइतबारसम्म १० दिन कडाइका साथ लकडाउन गर्ने उपमहानगरपालिकाले निर्णय गरेको छ ।

यसभन्दा अघि धरानका क्रियाशील राजनीतिक दलहरूले कोरोना सङ्क्रमित र मृत्युदरको सङ्ख्या उच्च भएको भन्दै लकडाउन गर्न संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका थिए । यस्तै, विज्ञहरूले समेत लकडाउन गर्न सुझाब दिएका थिए ।

सोमबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको उपस्थितिमा आयोजना गरिएको सर्वदलीय तथा सर्वपक्षीय बसेको बैठकले धरानमा दश दिन लकडाउन गर्न सिफारिस गरेको थियो । लकडाउन अवधिभर प्रहरी प्रशासनसँग समन्वय र परिचालन गरी कडाइका साथ लागू गर्ने, लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न सबै वडाका टोल विकास संस्थाहरू समेत परिचालन गर्ने निर्णय भएको छ ।

लकडाउनको समयमा औषधी पसल र दुग्धजन्य पदार्थ (पसल नखोली) मात्र बिक्री वितरण गर्न पाउने भएको छ । यस्तै, प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने, पिसिआर टेस्ट, एन्टिजेन्ट टेष्टलाई बढाउने, लकडाउन व्यवस्थापन गर्न वडा नं. १४, १५, १६ र १७ का वडाध्यक्षहरू समेत रहने गरी एक समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।