धरान : जिल्ला प्रहरी कार्यालय खोटाङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका दुई युवालाई पक्राउ गरेको छ।

खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले दिएको जानकारी अनुसार हलेसी तुवाचुङ नगरपालिका-७, हलेसीकी ३८ वर्षीय सानीका राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेको आरोपमा प्रहरीले स्थानीय दुई युवा पक्राउलाई गरेको हो ।

गत साउन १३ गते राति करिब १० बजे सुतिरहेको अवस्थामा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको आरोपमा सानीकाकै दिदीको छोरा २८ वर्षीय टिशन राई र सोही स्थानका २७ वर्षीय मने भनिने कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग कसुर अन्तरगत मुद्दा दर्ता गरेर कारबाहीको लागि प्रहरी हिरासतमा राखिएको एसपी लम्सालले जानकारी दिए । पक्राउ परेका उनीहरुविरुद्ध थप अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरिएको जनाइएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका टोलीले उनीहरूलाई मङ्गलवार दिउँसो ३ बजे आ-आफ्नै घरमा लुकिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको प्रहरीको भनाई छ।

“पक्राउ परिएका उनीहरू दुवै जनाले घटनाबारे स्वीकार गरिसकेका छन् , लम्सालले भने, “उनीहरूले प्रयोग गरेको धारिलो हतियार खुकुरी र रगत लागेको कपडा समेत सार्कीको घरबाट बरामद गरिएको छ ।”

खुकुरी प्रहारबाट गम्भीर घाइते सानीकाको ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको उनका आफन्तले बताएका छन् । घटनापछि जिल्लास्थित स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि बिएण्डबी अस्पताल ललितपुर पुर्‍याएको सानीकाको शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।

घटनापछि बेहोस अवस्थामै अस्पताल पुर्‍याइएको सानीकाको स्वास्थ्य अवस्था पछिल्लो समय सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ । विवाह गरे पनि माइती घर बस्दै आएकी सानीकाको टाउको, हात, चिउँडोलगायत शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको बुझिएको छ ।