इटहरी : नेकपा एमाले सुनसरीले कार्यकर्तालाई विचलित नहुन आग्रह गरेको छ। पार्टी विभाजन भएसँगै कार्यकर्तामा विचलन उत्पन्न हुनसक्ने भन्दै एमालेले सङ्गठनलाई मजबुत बनाउने काममा लाग्न अनुरोध गरेको हो ।

बुधवार एक विज्ञप्ति जारी गर्दै एमाले सुनसरीले पार्टीको नामबाट समानान्तर गतिविधि गरिरहेको पाइएकोले सजग हुने कार्यकर्तालाई सुझाएको छ। एमालेको नाममा सदस्यता नवीकरणमा अवरोध गर्ने र हतोत्साहित गर्ने काम भएको पाइएकोले त्यसको भण्डाफोर गर्न निर्देश गरिएको हो ।

जिल्ला सचिव पर्शुराम यादवद्वारा जारी विज्ञप्तिमा केही समयमै विधान महाधिवेशन हुने निश्चित भएकोले त्यसको पूर्व तयारी स्वरूप सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिइएको छ। तर पूर्व एमालेका कार्यकर्ताबाट नवीकरण नगर्नु भनेर भ्रममा पार्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

हाल एमाले प्रमुख प्रतिपक्षी दल भएको हिसाबले कुनै पनि गठबन्धनमा सहभागी नभएको यादवको भनाई छ । एमाले भन्दै काँग्रेसलाई भोट हाल्ने प्रवृत्तिको विरुद्ध लाग्न कार्यकर्तालाई परिचालन गरिएको उनले बताए । परमादेश बाट बनेको सरकारको विपक्षमा आफूहरू रहेकाले फुटेर गएको एमालेको विरुद्धमा एक भएर लाग्न आग्रह गरेका छन् ।

बुधवार मात्रै नेकपा एमाले विभाजन भएर एमाले (समाजवादी) नामको नयाँ पार्टी दर्ता भएको छ। माधव नेपाल अध्यक्ष रहेको नयाँ पार्टीको सुनसरीमा पनि बलियो उपस्थिति देखिएको छ । नेपाल निकट मानिएका भीम आचार्य नेकपा एमालेमै रहे भने एमाले (समाजवादी)को पकड कमजोर हुने देखिएको छ ।

uml-news-press-statement