देश छोडेर हिँडेका अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीलाई युनाइटेड अरब इमिरेट्सले शरण दिएको छ।

बिबिसीका अनुसार युएईको विदेश मन्त्रालयले मानवियताका आधार घानी, उनको परिवारका सदस्य र अन्य सुरक्षा अधिकारीहरूलाई स्वागत गरिएको जनाएको छ। यसअघि घानी उज्वेकस्तानको राजधानी तास्केन्ट गएको अनुमान गरिएको थियो।

युएई पुगेपछि घानीले फेसबुकमार्फत् सम्बोधन गरेका छन्। बुधबार राति फेसबुकमार्फत् सम्बोधन गर्दै उनले तालिबानहरू काबुलमा आएपछि रक्तपात नहोस् भनेर आफू निस्किएको बताएका छन्। देश छोड्दा गाडीभरि पैसा लिएको आरोपलाई पनि घानीले अस्वीकार गरेका छन्।

‘म त एउटा वेस्टकोट र केही अरू कपडामात्रै बोकेर हिँडेको हुँ। तर मैले पैसा लिएर गएँ भनेर मेरो चरित्र हत्या भइरहेको छ,’ घानीले भनेका छन्,‘ती आरोप निराधार छन्। तपाईंहरू कस्टम अफिसरहरूलाई सोध्न पनि सक्नुहुन्छ।’

यसअघि काबुलस्थित रूसी दूतावासका अधिकारीहरूलाई उल्लेख गर्दै गत आइतबार काबुलबाट भाग्दा घानीले आफ्नो साथमा केही गाडी पैसा लिएको समाचार विभिन्न सञ्चारमाध्यममा आएका थिए।

तालिबानहरू काबुल पसेपछि उनीहरूसँग कुरा गर्ने र संकटको बेलामा देशलाई निकास दिनु पर्ने राष्ट्रपति घानी देश छोडेर हिँडेको भन्दै अफगानिस्तानभित्र केहीले उनको आलोचना गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि तालिबानहरूले यति छिटै काबुल कब्जा गर्नुमा अफगान सरकारको गल्ती रहेको बताएका थिए।

घानीले भने यसअघि पनि आफू राष्ट्रपति कार्यालयमै बसिरहेको भए काबुलमा ठूलो रक्तपात हुने भएकाले हिँडेको बताएका थिए।

बुधबारको फेसबुक सम्बोधनमा आफू अधिकारीहरूको सल्लाहमै देशबाट निस्किएको घानीले बताएका छन्।

गत आइतबार राजधानी काबुलमा कब्जा जमाएका तालिबानहरूले अफगानिस्तानमा नयाँ सरकार बनाउने तयारी गरिरहेका छन्।