धरान: लकडाउन अवधिभर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कडाइ गर्ने भएको छ ।

बिहीबार बिपी प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरी शङ्कर शाहको कार्यकक्षमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीसहित बसेको सर्वपक्षीय छलफलले प्रतिष्ठानमा कडाइ गर्ने निर्णय गरेको हो ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख सुवास कुमार लामिछानेले भने , ‘धरानमा ४ गतेदेखि १० दिनसम्म कडाइका साथ लकडाउन हुँदैछ । त्यसको तयारीको सिलसिलामा बिपीमा ठुलो सङ्ख्यामा बिरामीहरू आउने, उनीहरूको व्यवस्थापन गर्न, बिरामीको कुरुवाहरूलाई व्यवस्थित गर्न छलफल भयो ।’ उनका अनुसार बिपी प्रतिष्ठान अगाडी रहेको सबै होटलहरु समेत बन्द गर्ने निर्णय भएको छ । प्रतिष्ठानमा उपचार गर्न आएका बिरामी र कुरुवाहरूलाई भित्रै खानाको व्यवस्था गर्ने छ ।

प्रतिष्ठानभित्रका क्यान्टिनहरू खुला हुने र प्रतिष्ठानभित्र रहेका विद्यार्थी, कर्मचारीहरूलाई लकडाउनको बारेमा सुसूचित गर्न पदाधिकारीसँग छलफल गरिएको उनले बताए ।

डेपुटी अस्पताल निर्देशक डा. दिव्यराज मिश्रले लकडाउन अवधिभर प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्स, कर्मचारीहरूलाई आवतजावत गर्न पासको व्यवस्था गरिने बताए । गत वर्ष पासको दुरुपयोग भएको कारण यस पटक रुटको आधारमा पास वितरण गरिने जानकारी दिए ।

छलफलमा प्रत्येक दिन धरानका एक सय जना मानिसहरूको पिसिआर परीक्षण गरिने निर्णय भएको छ । त्यसको लागि उपमहानगरपालिकाबाट सिफारिस ल्याउनुपर्ने छ । प्रतिष्ठानभित्र अत्यावश्यक रूपमा हिँडडुल गरिरहेको पाइएमा कारबाही गरिने भएको छ ।

छलफलमा अनुसन्धान अधिकृत सुकित चौधरी, इमरजेन्सी मेडिसिन प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्ल, मेट्रोन नर्सिङ सेवा प्रमुख गायत्री राई, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराई, अस्पताल प्रशासन सुपरभाइजर अशोक कुमार शाह, सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्णकुमार श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु खड्का, नगर प्रहरी निरीक्षक विष्णु कोइरालाको उपस्थिति रहेको थियो ।

bpkihs-discussion-1