धरान : सप्तकोसी नदीको कोसी ब्यारेजबाट नदीमा हाम फालेर 'आत्महत्या' गर्न पुगेका ६ जनालाई सुनसरी प्रहरीले उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाले दिएको जानकारी अनुसार असार र साउन महिनामा ६ जना पुरुष र महिलाले आत्महत्याको प्रयास गरेका थिए। उनीहरूको आत्महत्या प्रयासलाई सुनसरी प्रहरीको टोलीले असफल बनाई दिएको हो।

असार १ गते सुनसरी गढी गाउँपालिका ६ का ७८ वर्षीय यादव थरका वृद्धको उद्धार गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, असार २१ गते मोरङ विराटनगर महानगरपालिका १० का ५५ वर्षीय अधिकारी थरकी महिला, साउन ४ गते विराटनगर-३ की ३५ बर्सिया सापकोटा भट्टराई थरकी महिला, साउन २० गते भारत मधुवनी जयनगर चित्र गुप्तकोलोनीका २५ वर्षीय ठाकुर थरका युवा, साउन २४ गते सुनसरी इटहरी उपमहानगर-६ का ६५ वर्षीय पोखरेल थरकी महिला र काभ्रेपलान्चोक-१३ का ४० बर्सिया सापकोटा थरकी महिलाले आत्महत्याको प्रयास गरेका थिए।

आत्महत्याको प्रयास गरिरहेको अवस्थामा प्रहरी चौकी कोसी ब्यारेजको टोलीले नदीबाट उद्धार गरी आफन्तलाई जिम्मा लगाउँदै आएको छ । प्रहरीले सो प्रयास रोक्न खोज्दा मलाई छाडि दिनुहोस् म मर्न चाहन्छु समेत भन्ने गरेको प्रहरीले बताएको छ।

प्रहरीको अनुसन्धानमा धेरै जनाको पारिवारिक सम्बन्ध नराम्रो भएको तथा आर्थिक तनाव भएकाले आत्महत्या प्रयास गरेको देखिन्छ । सुनसरीका पछिल्लो समय आत्महत्याको ग्राफ बढ्दो छ।

मनोविश्लेषकहरू भन्छन् 'एक पटक आत्महत्या प्रयास गरेर असफल भएको मानिसको मृत्यु आत्महत्याबाट नै भएको देखिन्छ।' प्रहरीले उद्धार गरेका मध्ये एकको मृत्यु समेत भएको छ।