धरान : धरानका राजनीतिक दलहरूले धरानमा कोरोना सङ्क्रमणको चेन ब्रेक गर्न पुर्णलकडाउन गर्न माग गरे अनुसार भदौ ४ गते देखी धरानमा लानुहुने भनिएको पुर्णलकडाउन धरान उपमहानगरपालिकाले अन्ततः फिर्ता लिएको छ । 

बिहीबार साँझ साढे ६ बजे सम्म उपमहानगरपालिका कार्यालयमा बसेको राजनीतिक दलहरू, सरोकारवालाहरू र स्थानीय प्रशासन, प्रहरी समेतको समीक्षा बैठकले पुर्णलकडाउन फिर्ता गर्ने निर्णय गरेको हो ।

तिन घण्टा लामो छलफल पछि मेयर तिलक राईले लकडाउनका लागि घोषित अवधिमा धरानमा एमबिबिएस प्रवेश परीक्षा, त्रिभुवन विश्वविद्यालयका धरान स्थित आङ्गिक क्याम्पसहरूको परीक्षा समेत सञ्चालन हुने भएकाले पूर्व निर्णय अनुसार कडा लकडाउन गर्न अनुकूल नहुने देखिएकाले जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा लाई कडाइका साथ पालना गराउने गरी पूर्ण लकडाउन भने फिर्ता लिने निर्णय गर्न उचित हुने बताए ।

उनले उद्योग वाणिज्य सङ्घका साथै यातायात व्यवसायीहरूले पूर्ण लकडाउनको निर्णयमा पूनविचार गर्न पटक पटकको छलफलमा आग्रह गर्नुका साथै विरोध प्रदर्शन समेत भएको उल्लेख गर्दै उनले भने ‘जनताका हितका लागि गर्न लागेको स्वास्थ्य सुरक्षाका उपायलाई उनीहरूबाटै विरोध पनि भएकोले हाललाई पूर्ण लकडाउन गर्ने निर्णय फिर्ता लिइएको हो ।’ 

यसअघि छलफलमा नेपाली काँग्रेस, नेकपा एमाले (नेपाल समूह) र जनता समाजवादी पार्टीले उनीहरूले दिएको कडा लकडाउनको सुझावमा पूनविचार गर्न आग्रह गरेको थियो ।

बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्मको पुर्णलकडाउनको स्वरूप परिवर्तन गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको नियमित निषेधाज्ञा मात्र जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

Nirnaya-1 Nirnaya-2