चतरा : नेकपा एमाले वराहक्षेत्र नगर कमिटी सदस्य समेत रहेका नेपाल पिछडा वर्ग (ओबिसी) वराहक्षेत्र नगर अध्यक्ष राजकुमार यादवलाई किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी प्रहरीले पक्राउ परेको छ।

वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ का नेकपा एमाले नगर कमिटी अन्तर्गत लोकतान्त्रिक मधेसी फाँटका सदस्य समेत रहेका २८ वर्षीय राजकुमार यादवले १६ वर्षीय बालिकालाई प्रलोभन देखाएर इटहरी-६ स्थित सिद्धार्थ होटेल एण्ड लजमा लगेर जबरजस्ती करणी गरी फरार रहेका थिए।

आरोपी यादवलाई मोरङ प्रहरीको सहयोगमा विराटनगर-५ त्रिमूर्ति चौकबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

राजकुमारलाई जबरजस्ती करणी मुद्दाको अनुसन्धानको लागि हिरासतमा राख्न सुनसरी जिल्ला अदालतबाट दिन ७ को म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।