चतरा : वराहक्षेत्र नगरपालिकाका किसानले कोल्ड स्टोरका राखेको बिउ आलु कुहिएको पाइएको छ। नगरपालिकाले निर्माण गरेको कोल्ड स्टोर (चिस्यान गृह) मा चार महिना अगाडि राखेको ५ सय ७० बोरा बीउ आलुको बिउ कुहिएको कृषकले गुनासो गरेका छन् ।

वराहक्षेत्रका किसान तथा कृषि फर्मवालाहरूको बिउ आलु सुरक्षित गर्न कोल्ड स्टोरमा बीउ आलु राखेका थिए। नगरपालिकाले पनि किसानहरूकै सुबिधाकालागि कोल्ड स्टोर निर्माण गरेको थियो। तर किसानहरूकै फाइदाका लागि निर्माण भएको उक्त कोल्ड स्टोरबाटै किसानहरूलाई नोक्सान हुन पुगेको छ। उनीहरूले राखेको आलु बोराभित्रै उम्रिएका, चाउरी परेका, तौल अस्वाभाविक रूपमा घटेको किसानहरूले गुनासो गरेका छन्।

गएको वैशाखमा स्थानीय कृषि फर्म दर्पण अर्ग्यानिक रिसर्च सेन्टरले कोल्ड स्टोरमा भण्डारण गरिएको १५ बोरा विभिन्न जातका बिउ आलु कुहिन थालेको फर्मका सञ्चालक पीताम्बर राईले बताए। राईले कोल्ड स्टोरमा भण्डारण गरेको धेरै आलुमा टुसा पलाएको र ऐँजेरु पलाएको बताए ।

राईको दर्पण फर्मको जस्तै सञ्जय खत्री, कुमार थापा, अर्जुन थापा लगाएले राखेको आलुमा पनि उस्तै समस्या छ।

नगरपालिकाले प्रदेश नं १ सरकारको भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ५० लाख र नगरपालिको १७ लाख सहित ६७ लाखको लगानीमा रकमबाट कोल्ड स्टोर निर्माण गरेको थियो। हाल कोल्ड स्टोर नगरपालिकाको कृषि शाखा मातहत रहेको छ।

निर्माण भएको पहिलो वर्ष ट्रायलका लागि १० बोरा मात्रै आलु राख्ने भनिए पनि किसानहरूकै दबाएका धेरै आलु राख्दाको कारण आलुको बिउ बिग्रिएको कृषि शाखाका प्राविधिक निरबहादुर राईले बताए ।विद्युत् गडबडीका कारण तापक्रम नमिल्दा आलु कुहिएको प्राविधिक राईले भनाई छ।

किसानहरूले भने बिग्रिएको कृषि उपजको क्षतिपूर्ति नगरपालिकाले दिनु पर्ने माग राखेका छन्। वराहक्षेत्र नगरपालिकाले किसानमुखी योजना ल्याए पनि दक्ष कर्मचारी र प्राविधिकको अभावमा समस्या उत्पन्न भएको कृषकको गुनासो छ।

aalu-kuhiyo