झापा : कोरोना महामारीका बेला सङ्क्रमितका लागि सबैभन्दा बढी अग्रभागमा बसेर सेवा अस्पतालहरूमा नर्सले गर्छन् । उनीहरू दिनरात नभनी परिवारको साथबाट समेत अलग रहेर अहिले कोरोना सङ्क्रमितको उपचारमा खटिरहेका छन् ।

झापाको दमक-२ स्थित आम्दा अस्पतालमा ब्लक नम्बर एफ सघन उपचार इकाई भवन हो। अर्थात् आइसियु उपचार केन्द्र । यहाँ ५ वटा भेन्टिलेटर सहित ६ बेडको आइसियु बेड रहेको अस्पतालले जनाएको छ ।

यहाँ अहिले अन्य रोगका बिरामीको उपचार भएको छैन। यी सबै बेडमा कोरोनाका कारण सङ्क्रमण भएर आएका सङ्क्रमित बिरामीहरूको उपचार भई रहेको छ । सङ्क्रमितहरूलाई उच्च सर्तकताका साथ यहाँ उपचार गराइन्छ।

अस्पतालले आफूसँग उपलब्ध भएका सबै प्रकारका श्रोत र साधनको प्रयोग गरेर बिरामीलाई निको पार्न तल्लीन भएको छ । यही आइसियुको मूल ढोकामा केही नर्सहरू भेटिए । उनीहरू आइसियुमा भर्ना हुन आउने बिरामीलाई उपचार गर्छन्।

बिरामीलाई मुसुक्क हाँसेर तपाईँलाई केही हुँदैन है भनेर नर्सले बोल्दा मात्र पनि बिरामीको आधा रोग निको हुन्छ भन्ने विश्वास गरिन्छ । तर अहिले यी नर्सहरू हाँस्न सकिरहेका छैन । आफ्नो ओठको मुस्कानलाई सेतो मास्क, मुख भरी छोपिने फेस सिल लगायतले ढाकिएको छ।

बिरामीसँग बोल्दा पनि सकभर दुरी राखेर मात्र बोल्छन् उनीहरू । शरीर सेतो रङ्गको पिपिइले ढाकिएको छ । बिरामीले पनि नर्स हो वा अन्य कोही ठम्याउन पनि सक्दैनन् ।

तर पनि नर्सहरू बिरामीलाई आफ्नै समस्या जस्तै ठानेर सेवा गरिरहेका छन्। आम्दा अस्पतालमा कार्यरत सुस्मिता शाक्य जोखिम भए पनि आफ्नो पेसाप्रति रमाउँदै खुसी हुँदै कोरोना सङ्क्रमितको उपचार गरिरहेको बताउँछिन्।

आइसियुको हाइ केयरमा राखिएका बिरामी होस वा भेन्टिलेटरमा मृत्युसँग जुधीरहेका संक्रमितनै किन नहुन। ती सबैको सेवामा सबै भन्दा अगाडी गएर नर्सलेनै सेवा गरिरहेकी छिन् । गर्दा गर्दै कतिपयको ज्यान समेत जाने गरेको नर्सहरू सुनाउँछन् ।

शरीरमा सेतो गाउन त प्राय: सबै स्टाफ नर्सहरूले लगाउँछन् । तर आम्दा अस्पतालकी सोना दाहालले गाउन मात्र लगाएकी छैनन् । उनको शिर पनि छोपिएको छ । उनले लगाएको चप्पललाई पनि प्लास्टिकले बेरिएको छ।

उनले लगाएको गाउन पनि अन्य जस्तै सामान्य होइन । शरीरलाई पुरै ढाकेको छ। यी सबै साधानहरु लगाएर उनी आइसियु कक्षमा भेटिइन। त्यहाँ भित्र रहेकाहरूको अवस्था के छ भनेर भित्र जान लाग्दै गर्दा उनीसँग जम्का भेट भयो ।

उनले भनिन्, “हामी अस्पतालमै बसेर सङ्क्रमितको उपचार गरिरहेका छौ। जोखिमको त कुरै नगरौँ न भनी साध्य छैन। हर मिनेट मृत्युसँग जुधिरहिएको हुन्छ। आफ्नै आँखा अगाडी कोरोना सङ्क्रमितको मृत्यु हुँदा मन आत्तालीए पनि आत्मबल बलियो बनाएर काम गर्ने गर्छु ।”