झापा : मेची आँखा अस्पताल अगाडी एउटा होटेल छ । सोही होटेलमा मंगलबार साँझ दुई महिला र एक पुरुष खाजा खान पुग्छन् । खाजा खाइरहेको बेला आफूलाई मिडिया भनेर चिनाउने युट्युबर सो स्थानमा पुग्छन् । अनि सुरु हुन्छ युट्युबरको नाममा दादागिरी ।

भिडियोमा दुई जना महिला मध्ये एक जना महिला चुप लागेर बसेकी हुन्छिन् भने अर्की महिला आफूहरूले के गल्ती गर्यौ र ? भन्दै युट्युबरलाई प्रश्न गरिरहेको सुनिन्छ । युट्युबरका साथमा प्रहरी पनि पुगेका हुन्छन् । व्यक्तिगत गोपनीयता भङ्ग गर्ने गरी र चरित्र हत्या गर्ने गरी आतङ्क सिर्जना गर्छन् त्यहाँ युट्युबरले ।

उक्त भिडियोमा ती महिलाले आफू झुन्डिएर मर्छु, यो के गरेको तपाईँहरूले भन्दै प्रश्न गरिरहेको देखिन्छ । तर, युट्युबरले झन् थर्काउन थाल्छन् । होटेलका सञ्चालक पनि उक्त भिडियोमा देखिन्छन् । उनलाई पनि ती युट्युबरले गाली गर्छन् । प्रहरीसँग त युट्युबरको भनाभन नै भएको देखिन्छ उक्त भिडियोमा ।

मङ्गलवार साँझ दुई महिला र एक पुरुषले होटेलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युटुबरले यसरी आतङ्क मच्चाएका थिए । झापा चारआलीका ती महिलाहरूले अरू कुनै अनैतिक काम नगरी आफ्ना मानिससँग खाजा खाइरहेको आग्रह गरे पनि दादागिरी शैलीमा ती युटुबरले भिडियो खिचेर युट्युबमा हालेका थिए । जसको सर्वत्र विरोध भइरहेको छ ।

पत्रकारको खोल ओढेर त्यस्ता युटुबरहरुले केही दिनदेखि झापामा पनि आतङ्क सिर्जना गर्न खोजेका छन् । ती पीडित महिलाहरू कानुनी कारबाहीका लागि हिजो इलाका प्रहरी कार्यालय बिर्तामोड पुगेका थिए । बिर्तामोडमा प्रहरी प्रमुख सन्तोष आचार्यसँग सल्लाह गरेर आज उनीहरूले उजुरी दिन लागेको जनाइएको छ। उजुरी परेमा त्यस्ता युटुबरलाई पक्राउ गरी कारबाही गरिने बिर्तामोड प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिताले गोपनीयता विरुद्धको कामलाई कसुर घोषणा गर्दै अर्काको कुरा सुन्ने, रेकर्ड गर्ने र फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवानाको सजाय तोकेको छ।

youtuber-123456